७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

सशस्त्र प्रहरीमा शैलेन्द्र खनाल आइजी बन्दै


२६ चैत, काठमाडौँ । सशस्त्र प्रहरी बलमा संगठन प्रमुखको अनिर्वाय अवकास हुन तीनदिन मात्रै बांकी रहदा पनि नेतृत्व कसले गर्ने भन्ने अझै टुंगो लागेको छैन । सरकारले आइजी नियुक्त गर्ने दिन नजिकिदै गर्दा दावेदारहरुको संगठनमा निभाएको भुमिकाको बारेमा मुल्याङकनलाई आधार बनाएको छ ।

सशस्त्र प्रहरी बलमा आईजीपीको दावेदारको रुपमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक शैलेन्द्र खनाल एक्लो प्रतिस्पर्धी देखिनु भएको छ । खनालको ब्याचबाट उहां एक्लै एआईजी बन्नुभएको थियो भने उहांका सहयात्री ३ जना ११ महिनापछि मात्रै एआईजीमा बढुवा हुनुभएको थियो । कार्य सम्पादन मुल्याकन र संगठन हाक्न सक्ने क्षमता र बरिष्ठताको आधारमा खनाल एक नम्वरमा रहनुभएको छ । नेपाल प्रहरीमा यस अघि बरियता मिचिएपनि सशस्त्र प्रहरी बलमा भने अहिले सम्म बरिष्ठतालाई बेवास्ता गरिएको छैन । सशस्त्र प्रहरी बल अर्धसैनिक प्रकृतिको संगठन भएकाले पनि सरकारले सो संगठनलाई बिवादमुक्त बनाउने काम गर्दै आएको छ ।

संगठन प्रमुखकालागि खनाल भन्दा ११ महिना पछि एआईजीमा बढुवा भएका पुष्पराम केसीले समेत आफ्नो लविङलाई तीव्र बनाएका छन । भ्रष्टाचारको आरोपमा आइजीपीमा बहाल छदै निलम्वनमा परेका कोषराज वन्त निकट भनेर चिनिने केसी सशस्त्र बलको कार्यबिभागमा कार्यरत रहेका छन । खनाल भने एआईजी भएदेखि नै मानवस्रोत बिकास बिभागमा कार्यरत रहेका छन । बिषेश अदालतमा मुद्धा विचाराधिन रहेका पूर्व आईजीपी वन्तले एआईजी केसीलाई आइजीपी बनाउन शक्तिकेन्द्रसंग लविङ गरिरहेको स्रोतले दावी गरेको छ । खनाललाई रोकेर आफ्नो अनुकुलका केसीलाई आईजीपी बनाउन सके आफ्नो भ्रष्टाचारको मुद्धामा आफु अनुकुलको सहयोग प्राप्त हुने अपेक्षा गर्दै पूर्व आईजीपी वन्तले एआईजी केसीलाई अगाडि ल्याउन शक्ति केन्द्र धाइरहेको आरोप लागेको छ ।

पूर्व आईजीपी वन्त नेपालको सुरक्षा निकायको इतिहासमा बहालमै छदा भ्रष्टाचारको आरोपमा निलम्वनमा परी पछि अवकास पाएका थिए । निलम्वन परे यता सशस्त्र प्रहरी बलको कुनैपनि औपचारिक कार्यक्रममा वन्तले हालसम्म उपस्थिती जनाउन सकेका छैनन । सशस्त्र प्रहरीमा सेनामा झै बरिष्ठताको आधारमा संगठन प्रमुख नियुक्त गर्ने परम्परा छ । सशस्त्रको झण्डै २ दशकको इतिहासमा सबै आईजीपीहरु बरिष्ठताको आधारमा तोकिएको छ ।

सोही आधारमा किशोर लामा १४ दिन आईजीपी हुनु भएको थियो । पूर्व आईजीपी लामाले अर्धसैनिक प्रकृतिको सशस्त्र प्रहरीमा बरियताकै आधारमा आईजीपीमा बढुवा हुने गरेको बताउनुभयो । उहांले सशस्त्रमा भएको बरिष्ठताको आधारको परम्परालाई नबिगारी लैजानु पर्ने बताउनुभयो ।

पूर्व आईजीपी लामाले भन्नुभयो– बरिष्ठताको आधारलाई बिगारियो भने नेतृत्वमा आउने होडवाजीले संगठनलाई क्रमश धरासाही बनाउदै लैजान्छ । पूर्व आईजीपी दुर्जकुमार राईले सशस्त्र प्रहरीमा अव आउने नयां आईजीपीमा एआईजी खनालको कोही प्रतिष्पर्धी नै नरहेको बताउनुभयो । उहांले सशस्त्र प्रहरी बलमा रहेको बिशिष्ट परम्परालाई तोडियो भने संगठन धरासायी हुने नेपाल समाचारपत्रसंगको कुराकानीमा बताउनुभयो ।

सशस्त्रका बहालवाला एक डिआईजीले चेनअफ कमाण्ड बिग्रन नदिन सशस्त्र प्रहरी बलमा स्थापना काल देखिनै एक नम्वरमा रहेका एआईजी आईजीपी हुने परम्परा रहेको बताए ।

प्रकाशित मिति : २६ चैत्र २०७४, सोमबार ०७:५०