७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

धमाधम कानुन बनाउँदै प्रदेश ३


२५ चैत, हेटौँडा । प्रदेश नं. ३ को प्रदेश संसदको प्रथम अधिवेशनको ११ औँ बैठकले दुईवटा विधेयक पारित गरेको छ भने चारवटा विधेयकमाथि छलफल भएको छ ।

आज अपराह्न बसेको प्रदेशसभा बैठकले प्रदेशस्तरका केही सार्वजनिक लिखत प्रमाणीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश सरकारको आर्थिक कार्य्विधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक पारित गरेको हो ।

संसदको विषेश समयमा बोल्नेक्रममा सांसदहरूले प्रदेशको राजधानीको नामाकरण र स्थान छिटो तोक्नुपर्ने, भूकम्प पीडितको राहत र बलात्कार लगायतको बिषयमा बोलेका थिए ।

बैठकमा प्रदेशसभा सदस्य रिया केसी, केशव पोखरेल र केशवराज पाण्डेले प्रदेशको राजधानी र नामकरण छिटो तोक्न बैठकमा आग्रह गरे ।
सांसद रिता माझीले हिन्दुहरूको पर्वमा बिदा कटौती गरिएको तर क्रिस्मशलाई कटौती नगरिएकोमा आपत्ति जनाएका छन् ।

सांसद रिना गुरुङले सरकारले वर्षा लाग्नु पहिले नै विपद् व्यवस्थापनको तयारी तथा सडक निर्माण कार्य समयमा सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

सांसद रामलाल महतोले चितवन राष्ट्रिय निकुञ्जको वन्यजन्तु संरक्षण ऐन–२०२९ खारेज वा संशोधनको माग गरे ।

सांसद रिया केसीले बलात्कारका घटना हुन नदिन प्रदेश सरकार गम्भीर हुनुपर्ने र दोषीलाई फाँसीको सजाय हुनुपर्ने बताए ।

प्रकाशित मिति : २५ चैत्र २०७४, आईतवार २०:००