७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

कानून पढ्न कोटा, ६०० भित्र पर्नेलले मात्र पढ्न पाउने


२५ चैत, काठमाडाैँ । लामो समयदेखि त्रिवि कानून संकाय डिन कार्यालयमा लगाएको ताला आज खुलेको छ । विद्यार्थी र डिन कार्यालयबीच आज सहमति भएपछि करीब ४० दिनदेखि लगाइएको तालाबन्दी खुलेको नेपाल ल क्याम्पसका प्रमुख दीनानाथ पराजुलीले जानकारी दिनुभयो ।

डिन कार्यालयले कानून संकायको स्नातक प्रथम वर्षमा पाँचजनाको कोटा प्रणाली लागू गरेपछि त्यसविरुद्ध अनेरास्ववियु ल क्याम्पसका कमिटीले फागुन १४ गतेदेखि तालाबन्दी गरेको थियो ।

क्याम्पस प्रमुख पराजुलीले ताला खुलेपछि चाँडै नै स्नातक तहको भर्ना प्रक्रिया शुरु गरिने जानकारी गराउनुभयो ।सहमतिअनुसार स्नातक प्रथम वर्षमा भर्नाका लागि ६०० जनाको कोटा छुट्याइएको क्याम्पसका निवर्तमान स्ववियु सभापति गुणराज आचार्यले जानकारी दिनुभयो ।

क्याम्पस प्रमुख पराजुलीले कोटा निश्चित भएपछि प्रवेश परीक्षाबाट विद्यार्थी भर्ना गरिने बताउनुभयो । “तालाबन्दी खुलेपछि अब भर्नाका लागि फाराम वितरण गर्ने छौँ”, उहाँले भन्नुभयो, ‘‘प्रवेश परीक्षामा उत्तीर्ण गरेपछि मात्र कोटाअनुसार विद्यार्थी भर्ना गर्नेछौँ ।”

कानून विषय पढ्न विद्यार्थीको आकर्षण भएपछि यस पटकदेखि कोटा प्रणाली शुरु गरिएको हो । यसअघि चार हजार २३८ विद्यार्थी स्नातक तहमा भर्ना भएका थिए ।

क्याम्पस प्रमुख पराजुलीले क्याम्पसको क्षमताअनुसार ६०० जना पढ्नका लागि कोटा छुट्याइएको बताउनुभयो । ताला लगाउँदा स्नातकोत्तर तहको प्रवेश परीक्षाको नतिजासमेत प्रकाशन हुन पाएको छैन ।

प्रकाशित मिति : २५ चैत्र २०७४, आईतवार १९:१७