७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

बसपार्कलाइ शान्ति सुरक्षा र पुनःनिर्माणको सकारात्मक सन्देश दिइने


२५ चैत, काठमाण्डौं । काठमाण्डौंकाे नयाँ बसपार्कहेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन शान्ति सुरक्षा र पुनःनिर्माणको सकारात्मक सन्देश दिइने भएको छ ।

 नेपालको एक मात्र राष्ट्रिय बसपार्क रहेको उक्त क्षेत्रमा झण्डै एक हजार होटल तथा १०० डान्सबार रहेको नयाँ बसपार्कलाइ नयाँ वर्षमा ‘प्रथम सडक महोत्सव’मार्फत सकारात्मक सन्देश दिन लागिएको हो ।

महोत्सव आयोजक मूल समारोह समितिले आज नयाँ बसपार्क क्षेत्रका विभिन्न संघ संस्थाको आयोजनामा पहिलोपटक ‘सडकमा खाऔँ, सडकमा रमाऔँ, आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गरौँ’ भन्ने मूल नाराका साथ महोत्सव गर्न लागेको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा महोत्सवका संयोजक विष्णु पोखरेलले चैत ३० र वैशाख १ को अवसर पारेर पहिलोपटक सडकमा महोत्सवका रुपमा कार्यक्रम आयोजना गरिएको बताए ।

भूकम्पले जीर्ण नयाँ बसपार्क क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन महोत्सव आयोजना गर्न लागिएको बताउँदै भूकम्प पश्चात् नयाँ बसपार्क क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक घटेकोे अवस्थामा पुनःनिर्माण भइसकेको र यस क्षेत्र पर्यटकीय हिसाबले उपयुक्त छ भन्ने सन्देश दिन महोत्सव आयोजना गर्न लागेको हो ।

काठमाडौँ महानगरपालिका–२६ का अध्यक्ष ख्यामराज तिवारीले देशभरबाट काठमाडौँ आउने मानिसमध्ये झन्डै ८० प्रतिशत मानिस नयाँ बसपार्क आउने भएकाले उक्त क्षेत्र सुरक्षित तथा बस्न योग्य भएको सन्देश दिन महोत्सवको आयोजना गरिएको बताए ।

महोत्सवको पूर्वसन्ध्यामा आयोजक समितिको सहभागितामा यही चैत २९ गते बिहान प्रभातफेरिको आयोजना गरिएको आयोजकले जनाएको छ । महोत्सवमा पाँच लाख जनताको सहभागिता रहने र रु ५० लाख खर्च हुने अनुमान रहेको आयोजक समितिका कोषाध्यक्ष शैलेश कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : २५ चैत्र २०७४, आईतवार १८:४९