११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

तोकेको ठाउँमा जान नचाहनेलार्इ जागिर छोड्न मन्त्री पण्डितको अाग्रह

२३ चैत, काठमाडाैँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले तोकेको ठाउँमा जान नचाहने कर्मचारीलाई जागिर छोड्नुपर्ने बताउनुभएको छ ।

पाल्पाको तानसेनस्थित मदनपोखरामा सञ्चालित सामुदायिक रेडियोे मदनपोखराको २० औँ वार्षिकोत्सवमा उहाँले सरकारले पठाएको ठाउँमा जान नचाहने र अटेरी गर्ने कर्मचारीलाई जागिर छोडेर जान उपयुक्त हुन्छ भन्नुभयो ।

मन्त्री पण्डितले भन्नुभयो — “अटेरी गरेर बसिरहने हो भने जागिर छोडेर जाँदा राम्रो होला, त्यस ठाउँमा नयाँ पुस्ताका कर्मचारीबाट नयाँ ढंगबाट काम लिइन्छ ।”

निर्वाचित जनप्रतिनिधिलाई समेत आफ्नो सेवा र सुविधामा मात्र ध्यान नदिई जनताको सेवामा समर्पित हुन पनि उहाँले आग्रह गर्नुभयो । पूर्वमन्त्री सोमप्रसाद पाण्डेले सामुदायिक रेडियो मदनपोखराले जनयुद्धमा पनि अनेक धम्की आउँदासमेत जनताको सु सूचित हुने अधिकारको प्रवद्र्धनका लागि अटल भएर कार्य गरेकोमा प्रशंसा गर्नुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख दयाराज बस्याल, पाल्पाका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकाल, तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाही, बगनासकाली गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्याल, पूर्वसभासद् नारायणी शर्मा, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघका सचिव किरण कौशलले सञ्चारको क्षेत्रमा सामुदायिक रेडियो मदनपोखरा एउटा उदाहरणीय जनपक्षीय प्रसारण संस्था बनेको बताउनुभयो ।रासस

प्रकाशित मिति : April 6, 2018 at 8:26 pm