२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

एकल महिलाको सशक्तीकरण आवश्यक

–रीता लामा

अठ्ठाइस वर्षको उमेरमा पति गुमाउनुपर्दाको पीडा भोगिरहेकी हुमा डिसीको काँधमा दुई छोरी र एक छोरा हुर्काउने जिम्मेवारी आइपरेको थियो । त्यही जिम्मेवारीलाई बहन गर्ने क्रममा उनी एउटा सहकारी संस्थामा बचत उठाउन थाल्नुभयो । विस्तारै उनले एकल महिलाको हकअधिकारका लागि ठाउँ ठाउँमा चेतना फैलाउने कार्यमा पनि संलग्न हुँदै गयो ।

त्यसको केही समयपछि उनी एकल महिला सरोकार केन्द्रको स्थापना गर्नुभयो र एकल महिलामाथि हुने सबै प्रकार विभेद्विरुद्ध उनले सामाजिक आन्दोलनको शुरुआत गर्नुभयो । झण्डै १६ वर्ष अघि एकल महिलाले पनि रातो रंग लगाउन पाउनुपर्छ भन्ने रंग विभेद्का विरुद्ध जारी गरेको सामाजिक आन्दोलनका क्रममा उनलाई समाजबाट निकै नै हेपाइ खेप्नुप¥यो । केही नमिठा शब्द पनि सुन्नुप¥यो । तर केही अग्रज र सञ्चारमाध्यमको उनले दरिलो साथ पाए । फलस्वरुप उनले जारी गरेको आन्दोलनले सफलतातर्फ उन्मुख भयो । उनले शुरु गरेको आन्दोलनकै कारण अहिले धेरै एकल महिलाले रातो रंग निर्वाधरुपमा लगाउन पाएका छन् । अहिले उनी एकल महिला सरोकार केन्द्रकी अध्यक्ष छिन् ।

“रंग विभेदविरुद्धको आन्दोलनमा हामी सफल भइसक्यो, सञ्चारमाध्यम र राज्यपक्षबाट ठूलो साथ र सहयोग मिल्यो, अब आत्मनिर्भरको आन्दोलन शुरु गर्नुपर्नेछ”, उनले भनिन्, “अब एकल महिलालाई सरकार पक्षबाट पाउने दुई हजार रुपैयाँ भत्ता मात्र होइन, सीप, रोजगारीको समेत ग्यारेन्टी गरिनुपर्छ ।” सबै स्थानीय तहले एकल महिलाको सवालमा धेरै काम गर्न बाँकी नै रहेको उनको कथन छ ।

एकल महिला सरोकार केन्द्रकी संस्थापक अध्यक्ष सारदा पोखरेललाई पनि साना दुई वटा बच्चा हुँदा नेपाली सेनामा कार्यरत पति गुमाउनुप¥यो । पति गुमाएपछिको दुःख र पीडा सम्झदै उनी भन्छिन्, “पति गुमाउनुको पीडा त छदै छ, अझ रातो लगाउन नदिनु, घरबाट निस्कन नपाउनुले झन् पीडा थपिने रैछ ।” “रातो लगाउन पाउँदा केही भए पनि राहतको महसुस होला भनेर रातो लगाउने आन्दोलनमा सहभागी भएको थिएँ”, उनी भनिन्, “रंग विभेदविरुद्धको आन्दोलन थाल्दा आफैँले रातो लगाएर आन्दोलनको शुरुआत गरे पनि धेरै नमिठा भनाइ सहनुपरेको थियो ।”

बिहे गरेको छ वर्षमै पति गुमाउनुभएकी घोराहीका सरस्वती गौतमको पीडा पनि कम्ता छैनन् । सानो छोरा तीन वर्षको हँुदा उनको पतिको मृत्यु भएको थियो । एकल महिला भएपछि घर, समाजमा मात्रै नभएर यात्राको समयमा र कार्यालयमा पनि हेपाहा नजरले हेर्ने हुँदा सधैँ अप्ठ्यारो महसुस गर्नुपरेको तीतो यर्थाथ उनले सुनाइन् । छोराछोरीलेसमेत रातो पहिरन नलगाउँदा, निधारमा टीका नलाउँदा धेरै प्रश्न गर्ने, लगाउन कर गर्ने गरेपछि छोराछोरीका लागि पनि लगाउनुपरेको उनको भनाइ छ । रातो पहिरन लगाउन थालेपछि छोराछोरीले अनेक प्रश्न गर्न छोडे तथा यात्रा र कार्यालयमा पनि फरक व्यवहार हुन थालेको आफूले अनुभव गरेको बताइन् ।

द्वन्द्वको समयमा पति गुमाउनुभएकी द्रौपदा न्यौपानेलाई भने पति गुमेको १६ वर्ष बितिसक्दा पनि अझै निधारमा दशैँको टीका लगाउन मन लाग्दैन । तर रातो भने लगाउनुहुन्छ । बिहे भएको केही वर्षमै पति गुमाउनुभएकी उनले छोराछोरीसमेत जन्माउन पाउनुभएन तर पतिको यादमा अविवाहित नै बस्नुभयो । कसैले पतिका विषय वा सन्दर्भ कोट्याउँदा उनको आँखा अहिले पनि रसाउँछ । तर रातो पहिरनको आन्दोलनमा लागेपछि र रातो लगाउन थालेपछि उनको दैनिकी पनि केही सहज भएको छ ।

महिलालाई स्वरोजगार बनाउन विभिन्न कार्यक्रम गर्दै आउनुभएकी सामुदायिक महिला सेवा केन्द्रकी अध्यक्ष एवं महिला अधिकारकर्मी विमला योगीले एकल महिलाले थालेको रंग विभेदविरुद्धको आन्दोलन निकै सफल र उपयोगी भएको बताइन् । वेरङ्गको पहिरन गर्नुपर्दा आफ्नै आमा, आफन्त माथि परेको ठूलो पीडा आफूले नजिकबाट हेरेको हुँदा अब कुनै पनि महिला बेरंगको बन्नु नपर्ने दिन आइसकेको उनी बताउँछिन् । अब समाजले पनि एकल महिलालाई रङ्गिन पहिरनमा स्वीकार गरिसकेको हुँदा उनीहरु आत्मनिर्भर र स्वरोजगारको आन्दोलनमा लाग्नुपर्ने धारणा उनको छ ।

यस्तै अर्का अधिकारकर्मी साजिदा सिद्धिकी पनि महिलाहरुले अब रंगविभेदविरुद्धको आन्दोलन जितिसकेको हुंदा महिला सशक्तीकरणको आन्दोलनमा लाग्नुपर्ने बताइन् । जिल्लामा एकल महिलाको तथ्याङ्क नरहेको जिल्ला तथ्याङ्क कार्यालयले जनाएको छ ।रासस

प्रकाशित मिति : 17:21