सल्यानमा आगलागीमा परी दुई जनाको मृत्यु
२९ वैशाख, सल्यान । सल्यानमा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर-६ रामकाडामा भएको भीषण आगलागीमा एकजनाको ज्यान गएको छ भने सिमपानीका ८ घर जलेर नष्ट भएका छन् । सिमपानीसम्म पुगेको आगो निभाउने क्रममा सिमपानीका ५५ बर्षीया प्यान्टी बोहराको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले पुष्टि गरेको छ । आगोमा परेर त्यसै ठाउँका ४० वर्षीय खगेन्द्र बोहरा गम्भीर घाइते भएका छन् ।
यस्तै शारदा नगरपालिका-९ दुवेरी पुनटोलका ६३ वर्षीय गोवर्धन पुनको स्थानीय काफलखोली सामुदायिक वनमा भएको आगलागीमा परेर ज्यान गएको छ । वैशाख २४ गते घरबाट निस्किएका पुन परिवारको सम्पर्कमा नआएपछि खोजी गर्दा जंगलमा जलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक पंचलाल गोलेले बताए ।
प्रकाशित मिति : 07:29







