मरिच तस्करीमा प्रहरी र पत्रकारको मिलेमतो, प्रहरी कारबाहीमा परे पनि पत्रकारलाई उनमुक्ति
२७ वैशाख, काठमाडाैँ । सोमबार राती करिब एक बजेको समयमा ठाकुरराम बहुमुखी क्याम्पस पछाडिको सिर्सिया पुल नजिकै नेपाल प्रहरीको प्रदेश कार्यालय जनकपुरको टोलीले २ सय किलो मरिच बरामद ग¥यो । दुईवटा भारतीय मोटरसाइकलमा मरिच लोड गरि भारतर्फ लगिरहेको अवस्थामा प्रहरीले रक्सौल निवासी दिपेन्द्र मण्डल र वीरगन्ज २२ बस्ने विनोद पटेललाई पक्राउ गरेको थियो । मरिच पास गराउन ‘लाइनर’ को काम गर्ने रक्सौलका तारकेश्वरलाई पनि प्रहरीले पक्राउ गर्न खोजेको थियो ।
तर, उनी मोटरसाइकलमा भाग्न सफल भए । तारकेश्वरको मोबाइल भने प्रहरीले नियन्त्रणमा लियो । मरिच र मोटरसाइकल सहित मण्डल र पटेललाई जनकपुरको टोलीले जिल्ला प्रहरी कार्यालय पर्सा बुझाएर कोठामा सुत्न गयो । सुतेको केही बेरमै तारकेश्वरको मोबाइलको रिङ्गटोन बज्यो । वाराका एकजना पत्रकारको नामले ‘सेभ’ भएको नम्बरबाट कल आएको थियो ।

प्रहरीले कल रिसिभ गर्ने बित्तिकै उताबाट आवाज आयो – तारकेश्वर जी, माल पकडा नु गइल । प्रहरी – हु । पत्रकार – ‘हम कहते रनि ह कि जनकपुर के टोली आइल बा, अपने ना मननी ह । ठीक बा फ्रेस होकर बात करि ।’ यति भनेर उतबाट फोन काटियो । प्रहरीसंगको मिलोमतो देखिएपछि प्रदेश प्रहरी कार्यालयले आदर्शनगर एसटीएफ इन्चार्ज दिलिप सिंहलाई निलम्बन गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका क्राइम टोली इन्चार्ज इन्सपेक्टर राजेश दत्तसहित तीन प्रहरी अधिकृतलाई जनकपुर कार्यालय झिकाएर सख्त चेतावनी दिइएको छ ।
एसपी रेवती ढकालका विश्वास पात्र मानिने इन्सपेक्टर दत्तले नै जिल्लामा तस्करीको लाइन खोल्ने गरेका छन् । तस्कर र मरिचलाई थप अनुसन्धानका लागि वीरगन्ज भन्सार कार्यालय पठाइएको छ । पटेल र मण्डल धरौटीमा रिहा भएपनि प्रहरीले फेरि पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा राखेको छ । ‘तस्करसंग सम्पर्क भएकै आधारमा एक प्रहरी निलम्बन परे, तीन जनाले चेतावनी पाए,’ एक प्रहरी अधिकृत भन्छन्, ‘तर, तस्करसंग निरन्तर सम्पर्कमा बस्ने पत्रकारलाई चाहि केही नहुने रहेछ ।’ इसिमाना डटकमबाट
प्रकाशित मिति : 08:00









