२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

उपभोक्ताले धरौटी रकम जम्मा गर्न नसक्दा २० करोडको खानेपानी आयोजनाको कामै शुरु भएन?

२५ वैशाख, रामेछाप । सरकारको सुख्खा क्षेत्र कार्यक्रमअन्तर्गत रामेछाप नगरपालिकाको वडा नं ८ र ९ मा प्रदेश नं ३ सरकारमार्फत् सञ्चालन हुन लागेको कात्तिके लिफ्ट खानेपानी आयोजनाको काम धरौटी रकमको अभावले शुरु हुन सकेको छैन । करीब रु २० करोडको लागतमा निर्माण हुने भनिएको उक्त आयोजनाको काम शुरु गर्न केही धरौटी रकम राख्नुपर्ने र उपभोक्ताबाट त्यो सम्भव नभएपछि काम अगाडि बढ्न नसकेको हो ।

आयोजनाबाट लाभान्वित हुने दुई वडाका उपभोक्ताबाट कूल लागतको एक प्रतिशतअर्थात् रु २० लाख धरौटी राख्नुपर्ने कानूनी प्रावधानअनुसार धरौटी रकम जम्मा गर्न नसक्दा काम अगाडि बढाउन नसकिएको उपभोक्ता समितिका अध्यक्ष गौतमकुमार श्रेष्ठले बताउनुभयो । आयोजनाबाट लाभान्वित हुने करीब ८०० घरपरिवारबाट रु एक हजार ५०० का दरले रकम सङ्कलन गरिए पनि पर्याप्त नभएपछि काम शुरु गर्न नसकिएको हो ।

उपभोक्ताबाट सङ्कलित रु १२ लाखमा थप हुने गरी केही सहयोग गरिदिन नगरपालिकालाई आग्रह गरिए पनि नगरपालिकाले बेवास्ता गरेको अध्यक्ष श्रेष्ठले गुनासो गर्नुभयो । नगर कार्यपालिकाको तीन÷चार वटा बैठकमै आयोजनाको काम अघि बढाउन रु पाँच लाख सहयोगको प्रस्ताव लगे पनि सुनुवाइ नभएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

उहाँले स्थानीय तहलगायत अन्य दातृ निकाय र समाजसेवीलाई समेत सहयोगको अपिल गरिएको बताउनुभयो । नगरपालिकाले भने सो आयोजनाको धरौटी रकम उपभोक्ता समितिबाटै जम्मा गर्नुपर्ने भएकाले विकास बजेटबाट दिन नीतिगत रुपमा नमिल्ने जनाएको छ ।

नगर प्रमुख नरबहादुर थापामगरले नगरकै समृद्धिका लागि शुरु गर्न लागिएको सो आयोजनालाई सहयोग नगर्ने भन्ने कुरा नभएको तर नीतिगत समस्याका कारण उक्त प्रस्तावलाई कार्यपालिका बैठकमा तीन÷चार पटक लगिए पनि अनुमोदन गर्न नसकिएको बताउनुभयो । त्यसका लागि नगरपालिकाले वैकल्पिक स्रोतको सम्भावनाको खोजी गरिरहेको नगरप्रमुख थापाको भनाइ छ ।

आयोजनाको कूल लागतमध्ये पहिलो किस्तास्वरुप रु पाँच करोड खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको खातामा निकासा भए पनि धरौटी रकमले नै काम रोकिएको हो । आयोजनाअन्तर्गत सुनकोशीको हर्देनीबाट लिफ्ट प्रविधिमार्फत् पानी तानी सो वडामा खानेपानी वितरण गर्ने योजना छ । वर्षौंदेखि खानेपानीको समस्या झेलिरहेका नागरिकलाई राहत दिने हेतुले सञ्चालन गर्न लागिएको योजना साढे दुई वर्षमा सम्पन्न गरिसक्ने लक्ष्य लिइएको उपभोक्ता समितिका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

प्रकाशित मिति : 00:49