भ्रष्टाचार गरेको सम्पत्ति लुकाउन चार श्रीमति, सासु र मामाको नाममा समेत सम्पत्ति लुकाएको खुलासा
२३ वैशाख, काठमाडाैँ । यातायात व्यवस्था कार्यालय कोशीका लेखापाल सुरेश अधिकारीले भ्रष्टाचार गरेको सम्पत्ति लुकाउन चार श्रीमती बिहे गरेको रहस्य खुलेको छ । अधिकारीको अकुत सम्पत्ति छानविनका क्रममा अख्तियार दुरूपयोग अनुसन्धान अायोगले यस्तो तथ्य पत्ता लगाइको छ । अायोगले लेखा अधिकृत अधिकारीले सासु र मामा नाता पर्ने मान्छेको नाममा समेत भ्रष्टाचार गरेको सम्पत्ति लुकाएको अख्तियारले दाबी गरेको छ ।
सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गर्दै अख्तियारले अधिकारीले भ्रष्टाचार गरेर ५ करोड १० लाख ३३ हजार ६ सय २३ रुपैयाँभन्दा बढी अकुत सम्पत्ति कमाएको जनाएको छ । अायोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार अधिकारीले पदीय मर्यादा विपरीत कार्य गरी गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको र अस्वाभाविक उच्च जीवनशैली यापन गरेको जानकारी दिए । कोइरालाका अनुसार लेखापाल अधिकारी २०५९ असोज १६ देखि २०६० जेठ २५ गतेसम्म रोल्पाको साविक तेवाङ गाविसका सचिव रुपमा काम गरेका थिए।

त्यसपछि २०६० जेठ २६ गतेदेखि २०६५ चैत २९ गतेसम्म नेपाल टेलिकमको सहायकस्तर तह ४ मा कार्यरत रहेका थिए। टेलिकममा सेवा गरिसकेपछि २०६५ चैत ३० मा निजामती सेवाको लेखापाल पदमा अधिकारीले नयाँ नियुक्ति लिएका थिए। त्यसबेला कोष तथा लेखा नियन्त्रकको कार्यालय भोजपुर हुँदै मिति २०६७ चैत २० गते २०७४ वैशाख ६ गतेसम्म सम्म यातायात व्यवस्था कार्यालय, इटहरीमा लेखापालको पदमा कार्यरत थिए।
सोही बेला २०७४ वैशाख ६ मा उनी निलम्बनमासमेत परेका थिए। उनले जागिर खाएको अवधि २०५९ असोज १६ देखि २०७५ वैशाख मसान्तसम्मको आयव्यय तथा सिर्जित सम्पत्तिहरुमाथि अख्तियारले अनुसन्धान गरेको थियो। उनले पाउने तलबभत्ता, प्रोत्साहन भत्ता, जग्गा बिक्री¸ नगद अंश भर्पाई, कर्जालगायतबाट कुल ८८ लाख ३४ हजार ८ सय ८५ रुपैयाँ आम्दानी हुन आउँछ। तर उनले सोही अवधिमा आफू र श्रीमतीहरु दुर्गा अधिकारी, दिपा श्रेष्ठ (अधिकारी)¸ सुस्मिता अधिकारी, सोममायाँ श्रेष्ठलगायत सासू पुष्पकुमारी निरौला र मामा नाता पर्ने बलराम शर्मासमेतका नाममा सम्पत्ति राखेका थिए।

उक्त चलअचल सम्पत्तिहरु जग्गा खरिद, घर निर्माण, सवारी साधन खरिद, लगानी तथा खर्च एवं विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा मौज्दातलगायत गरी ५ करोड ९८ लाख ६८ हजार ५ सय ८ रुपैयाँ आम्दानी गरेको देखिएको अख्तियारले जनाएको छ। उनको वैध आम्दानी जम्मा ८८ लाख ३४ हजार ८सय ८५ देखिएको तर ५ करोड १० लाख ३३ हजार ६ सय ३३ रुपैयाँ अकुत सम्पत्ति कमाएको देखिएको अख्तियारले जनाएको छ।
लेखापाल अधिकारीले उक्त सम्पत्तिको स्रोतसमेत खुलाउन नसकेकाले अख्तियारले उनी विरुद्द भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा ९१० बमोजिमको कसुर मबोजिम मुद्दा दायर गरेको जनाएको छ। लेखापाल अधिकारीसहित उनका श्रीमतीहरु दुर्गा अधिकारी, दिपा श्रेष्ठ (अधिकारी)¸ सुस्मिता अधिकारी, सोममायाँ श्रेष्ठ, सासू पुष्प कुमारी निरौला र मामा नाताका बलराम शर्मा समेतलाई प्रतिवादी कायम गरी सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको हो।

प्रकाशित मिति : 19:04









