२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

बैंककमा पक्राउ परेका ‘मानव तस्कर’ ले नेपाल नपठाउन गरे याचना, यस्तो थियो उनको ठगीधन्दा

२० बैशाख, काठमाडौँ । करोडौं ठगी र संगठित मानव तस्करीको आरोपमा बैंककमा पक्राउ परेका पर्शुराम गुरुङले आफूलाई ज्यानको खतरा रहेको भन्दै नेपाल नपठाइदिन नेपाली दूतावासलाई आग्रह गरेका छन् ।

थाइ प्रहरीको नियन्त्रणमा रहेका गुरुङले बैंककस्थित दूतावासलाई हस्तलिखित पत्र लेखेर बैंककमै राखिदिन आग्रह गरेका हुन् ।

काे हुन् गुरूङ ?

क्यानडाको पर्मानेन्ट रेसिडेन्ट कार्ड (पीआर) भएको बताउने तर भिसाबिना अवैध रूपमा बैंककमा बस्ने । क्यानडाको पाँचतारे होटलको फर्जी कागज तयार पारेर डिर्पाटमेन्टको म्यानेजर बताउने अनि दर्जनौं नाम फेर्दै परिचय बदलेर हिँड्ने ।

क्यानडा, अमेरिका, अस्ट्रेलिया, मकाउमा मासिक लाखौं रुपैयाँको जागिर मिलाइदिने भन्दै फेसबुकबाट फसाउने अनि बैंकक बोलाउने । त्यसरी आउनेसँगै लाखौं डलर असुल्ने र थाई श्रीमतीका खातामा राख्ने । आठ वर्षयता बैंककमा बसेर मानव तस्करीको जालो थाप्दै सयौंसँग करोडौं रुपैयाँ ठगी गर्ने पर्शुराम गुरुङ अन्ततः थाई प्रहरीको फन्दामा परेका छन् ।

गुरुङविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो -सीआईबी) मा मात्रै ३४ पीडितले निवेदन दर्ता गराएका छन् । ठगीमा परेर लाखौं रुपैयाँ गुमाएका दुई दर्जनभन्दा धेरै पीडित सम्पर्कमा आएका छन् । उजुरी गर्नेहरूले ५ करोड रुपैयाँभन्दा धेरै गुमाएको बताएका छन् ।

गुरुङको ठगीधन्दा नजिकबाट नियालिरहेका सीआईबीका एक अनुसन्धान अधिकारीका अनुसार उनले दुई सय जनाभन्दा धेरैबाट ५ करोडभन्दा बढी ठगेको हुन सक्ने प्रारम्भिक अनुमान छ । गुरुङविरुद्ध सीआईबीमा २०७२ सालदेखि नै उजुरी पर्न थालेको देखिन्छ । महानगरीय प्रहरी अपराध महाशाखा र प्रहरी परिसर काठमाडौंमा पनि दर्जनौं पीडितले निवेदन दिएका छन् । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।

प्रकाशित मिति : 08:13