युवतीलाई डर देखाएर यौन धन्दामा लगाउने होटल सञ्चालिकासहित तीन जना जेलमा
१८ वैशाख, विराटनगर । युवतीलाई डर देखाएर यौन धन्दामा लगाउने होटल सञ्चालिकासहित तीन जना जेल परेका छन । विराटनगरस्थित वेलकम होटेल सञ्चालिकासहित तीनजनालाई मोरङ अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो। अदालतको आदेशपछि उनीहरू जिल्ला कारागार मोरङमा छन् । मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ बमोजिम उनीहरूलाई थुनामा राख्न अदालतले आदेश दिएको हो। वेलकम होटेलमा काम गर्न बसेकी किशोरीलाई होटेलमा आउने ग्राहकसँग मोटो रकम लिएर संचालिक सुशीला र आशीषले धम्क्याएर पटक-पटक यौन धन्धामा लगाउने गरेको अदालतमा पेस गरेको अभियोग पत्रमा उल्लेख छ।

अदालतको ४ नम्बर इजलासमा भएको थुनछेक बहसपछि न्यायाधीश दीपक खनालको आदेशमा होटेल सञ्चालिका विराटनगर– ३ की ४६ वर्षीय शुसीला ढुंगेल (अधिकारी), विराटनगर –७ घर भई सिराहाको लहान बस्ने ३२ वर्षीय नुर जमाल र बूढीगंगा गाउँपालिका–३ का ३५ वर्षीय आशीष महतोलाई पुर्पक्षका लागि थुनामा पठाइएको हो। त्यस्तै सिराहा धनगढीमाई नगरपालिका-११ का २८ वर्षीय सन्तोष कुमार परियारलाई १ लाख रुपैयाँ धरौटीमा छोड्न अदालतले आदेश दिएको छ। मंगलबार साँझसम्म अदालतले तोकेको धरौटी रकम बुझाउन नसकेपछि परियारलाई थुनामा पठाइएको जिल्ला अदालत मोरङका श्रेस्तेदार इश्वरमणि ओझाले जानकारी दिए।
प्रकाशित मिति : 21:42









