१ जेष्ठ २०८१, मंगलवार | Tue May 14 2024

वैशाख ९ मा पार्टी एकताको तयारी गर्न एमाले–माओवादीलाई संयोजन समितिको निर्देशन


२२ चैत, काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकताको टुंगो लागेको छ । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एकता संयोजन समितिको बैठकले बैशाख ९ गते पार्टी एकताको तयारी गर्न दुवै पार्टीलाई निर्देशन दिएको छ ।

बैठकमा दुई कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले दैनिकीलाई जानकारी दिए । बैठकले राजनीतिक र सांगठनिक कार्यदलले बुझाएको प्रतिवेदनलाई ग्रहण गर्ने निर्णय पनि गरेको छ ।

बैठकमा प्रधानमन्त्री ओली भारत भ्रमणबाट फर्किएपछि पुनः बैठक बस्ने निर्णय भएको छ । एकता संयोजन समितिको बैठकले प्रधानमन्त्री ओलीको भारत भ्रमण लगत्तै पार्टी एकताका सबै विषयमा टुंगो लगाउने निर्णय गरेको माओवादी नेता नारायणकाजी श्रेष्ठले बताए ।

दुवै कार्यदलले दिएको सुझाव अनुसार बैशाख ९ गते पार्टी एकता गर्ने गरी आन्तरिक तयारी गर्ने निर्णय पनि गरिएको उनले बताए ।

प्रकाशित मिति : २२ चैत्र २०७४, बिहीबार १३:४२

https://srdb.com.np/