नुवाकोटको बेलकोटगढीमा सामुदायिक विद्यालय सञ्चालनका लागि ‘धार्मिक–शैक्षिक महोत्सव’
–रामहरि गजुरेल
१६ बैशाख, नुवाकोट । भौतिक पुर्वाधार तथा आर्थिक रुपमा संकटमा परेपछि सामुदायिक विद्यालय सञ्चालनको लागि नुवाकोटको बेलकोटगढी नगरपालिकास्थित करुणाकर आधारभूत विद्यालय सञ्चालनको लागि महायज्ञ अर्थात् धार्मिक शैक्षिक महोत्सव सञ्चालन हुने भएको छ । बेलकोटगढी वडा नं. ९ जिलिङ नलगाउँमा रहेको विद्यालयको कुनै आयश्रोत नभएको र विद्यार्थीहरुलाई गाउँमै समय अनुसारको प्राविधिक शिक्षा दिने उद्देश्यले महोत्सव सञ्चालन गर्न लागेको हो ।
निजी विद्यालयको बढ्दो चुनौतीसँगै त्यसतर्फ नै विद्यार्थीहरुको लाम लागिरहेको अवस्थामा सामुदायिक विद्यालयको शिक्षालाई गुणस्तरिय बनाउनुपर्ने जिम्मेवारी र योजना लिएर ग्रामिण भेगमा समुदायले नै प्राविधिक शिक्षा सञ्चालन गर्न लागिएको विद्यालयले जनाएको छ । त्यसका लागि आर्थिक स्रोतको समस्याका कारण विद्यालयले आवश्यक रकम जुटाउनका लागि श्रीमद्भागवत सप्ताह बृहत धार्मिक तथा शैक्षिक महोत्सव धार्मिक तथा शैक्षिक महोत्सव मूल समारोह समितिका अध्यक्ष नवराज गजुरेलले जानकारी दिनुभयो । महायज्ञमा नेपालकै चर्चित बथावाचक बालतपस्वी पण्डित उत्तम भट्टले कथा बाचन गर्नेछन् । यो उहाँको १०८ श्रीमद्भागवत राष्ट्र शान्ति महायज्ञको ८३ औँ अनुष्ठान हो ।

२३ वर्षअघि २०५३ सालमा स्थापना भएको यस विद्यालयबाट बालबालिकाले घर आँगनमै अध्ययन गर्ने अवसर पाएपनि विद्यालय भवन, शिक्षकलाई तलब खुवाउनसमेत धौ धौ हुनेजस्ता चरम आर्थिक संकटबाट गुज्रिँदै आएको थियो । हाल कक्षा ८ सम्म पढाई हुने यस विद्यालयले विद्यालयको अक्षयकोष स्थापनाका साथै आधुनिक र अहिलेको विकसित समयको माग अनुसार गुणस्तरिय एवं प्राविधिक शिक्षा सञ्चालनका लागि शैक्षिक महोत्सवबाट आर्थिक स्रोत संकलन गर्न लागिएको बेलकोटगढी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका सदस्य बाबुराम गजुरेलले बताउनुभयो ।
विद्यालयलाई आवश्यक भौतिक संरचनाको अभाव हुनुका साथै अभिभावकहरु सम्मिलित समुदायस्तरबाटै सञ्चालित विद्यालयले ८ जना शिक्षकहरुमध्ये ६ जना आफ्नै स्रोतबाट तलब दिँदै आएको छ । ‘आर्थिक संकटबाट छुटकारा पाउनकै लागि अहिले विद्यालयले गुणस्तरिय पढाई सुरु गर्न विभिन्न उपाय खोजिरहेको र यसैक्रममा श्रीमदभागवत सप्ताह वृहद धार्मिक शैक्षिक महोत्सव गर्ने योजना बनाएका हौँ’, महोत्सव आयोजक समितिका अध्यक्ष बाबुराम गजुरेलको भनाई छ ।

उनका अनुसार धार्मिक शैक्षिक महोत्सव यही बैशाख २२ देखि २९ गतेसम्म सञ्चालन हुनेछ भने यसबाट ६० लाखदेखि एक करोडसम्म दानसहयोग बापत आर्थिक सहयोग संकलन गर्ने लक्ष्य राखिएको छ । त्यसको लागि सम्पूर्ण तयारी भइसकेको विद्यालयका प्रद्यानाध्यापक रामेश्वर रिजालले जानकारी दिनुभयो । पहिलो दिन २२ गते बिहान ९ बजे कलस यात्रा गरेर दिउँसो १ बजे धार्मिक शैक्षिक महोत्सवको विधिवत उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी प्रद्यानाध्यापक रिजालले बताउनुभयो । ‘महायज्ञ अघि नै केही व्यक्तिहरुबाट सहयोग रकमको प्रतिबद्धता पनि आइसकेको छ’, रिजालले बताउनुभयो ।
महायज्ञबाट उठ्ने रकमले विद्यालयको भौतिक संरचना निर्माण तथा सुधार गर्नुका साथै शैक्षिक जनशक्ति व्यवस्थापन र गुणस्तरिय तथा प्राविधिक शिक्षामा लगानी गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इश्वर प्रसाद गजुरेलले जानकारी दिनुभयो । महायज्ञमा हरेक दिन संगितमय श्रीमदभागवत कथा पितृमुक्ति, शालिग्राम पूजन अर्चना, ब्रतबन्ध तथा तुलसी दानका साथै रुद्री, चौरासी पूजा र जन्मोत्सव पूजा कार्यक्रम समेत गरिने छ । हरेक दिन बेलुकी ७ बजेदेखि १० बजेसम्म महात्म्य कथा सहित भजनकृतन र झाँकी प्रदर्शन हुनेछ ।
प्रकाशित मिति : 23:51









