२९ माघ २०८२, बिहीबार | Thu Feb 12 2026

शेयर बजार थामिदा पनि अर्ब माथिको कारोवार

१६ वैशाख, काठमाडौँ । लगातार उच्च अङ्कको वृद्धि हुँदै आएको शेयर बजार आज भने थामिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ४.२१ बिन्दुले घटेर एक हजार ३१०.३१ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १.०१ प्रतिशतले घटेर २८१.८४ बिन्दुमा पुगेको छ ।

नेप्से परिसूचक घटेपनि कारोवार रकम भने आज पनि अर्बमाथि रहेको छ । स्टकका अनुसार कूल १७४ कम्पनीको ३० लाख १६ हजार ४८० कित्ता शेयर रु एक अर्ब १९ करोड ७७ लाख ६९ हजार आठ मूल्यमा खरीद बिक्री भए ।

कारोवार भएका ११ उपसमूह मध्ये आज छ उपसमूहको शेयर घटेको छ भने पाँच उपसमूहको शेयर भने बढेको छ । आइतबार पनि ओरालो लागेको बैंकिङ उपसमूह आज ७.८ बिन्दुले घटेको छ । यस्तै विकास बैंक १४.३६, जलविद्युत् १.५, वित्त ३.५३, निर्जीवन बीमा १०२.४३ र लघुवित्त ५.६२ बिन्दुले घटेका छन् ।

यस्तै व्यापार ५.४९, होटल ७.३९, उत्पादन ९.७३, अन्य ३.३२ र जीवन बीमा १३०.७२ बिन्दुले बढेको छ । स्टकका अनुसार नेपाल लाइफ इन्स्योरन्स कम्पनीको मात्रै रु १४ करोड ६९ लाख ८२ हजार ४८८ कारोवार भएको छ । सो कम्पनीको प्रतिकित्ता रु एक हजार ३१६ मूल्यमा शेयर खरीद बिक्री भए ।

यस्तै आइतबार सबैभन्दा बढी कारोवार भएको नेपाल बैंक लिमिटेड आज दोस्रो स्थानमा रहेको छ । सो बैंकको मात्रै रु ११ करोड २९ लाख ९४ हजार ४३९, प्रभु बैंक रु तीन करोड ८७ लाख ८४ हजार १९५, नेको इन्स्योरेन्स रु तीन करोड ३२ लाख ८६ हजार १५२, एनआइसिएशिया रु तीन करोड नौ लाख तीन हजार ६० मा कारोवार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार एनआइबिएल प्रगति फण्डका लगानीकर्ताले ५.६६ प्रतिशतले कमाए । यस्तै लक्ष्मी इक्विटी फण्ड ५.५२, ओरियन्टल होटल ४.८०, सूर्योदय लघुवित्त वित्तीय संस्था ४.६६, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका शेयरधनीले ४.५३ प्रतिशतले कमाए । यसैगरी राधी विद्युत् कम्पनीका शेयरधनीले ७.५१, एभरेष्ट इन्स्योरेन्स कम्पनी ५.४४, हिमालयन पावर पार्टनर ५.२३, कन्काई विकास बैंक ४.५४, यूनाइटेड इन्स्योरेन्स कम्पनी ४.४८, युनाइटेड मोदी हाइड्रोपावरका लगानीकर्ताले ४.३४ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार १९:४२