१ जेष्ठ २०८३, शुक्रबार | Sat May 16 2026

काभ्रेकाे महादेव प्राविकी शिक्षिका आफ्नै घरमा मृत भेटिइन्, हत्या गरेर श्रीमान फरार भएकाे आशंका

१३ वैशाख, काभ्रे । काभ्रेकाे महादेव प्राविकी शिक्षिका आफ्नै घरमा मृत भेटिएकी छन् । काभ्रेकाे मण्डनदेउपुर-६ सिपाघाटकी २५ वर्षिया सरिता दुलाल शुक्रबार आफ्नै घरमा मृत भेटिएकी हुन् । बिहान ९ बजेसम्म पनि गाई नदोहेर कराउन थालेपछि स्थानीयले सरिताको ढोका ढकढक्याएका थिए ।

भित्रबाट कुनै जवाफ नआएपछि शंका लागेर स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले सरिताको घरमा पुगेर हेर्दा उनकाे शव उत्तानो परेको अवस्थामा लडिरहेको र शरिरभरी निलडाम भएकाले उनकाे हत्या भएकाे हुनसक्ने प्रहरीले बताएकाे छ ।

घटनापछी सरीताका श्रीमान सुदिप दुलाल फरार रहेकाले उनैले सरीताकाे हत्या गरेकाे हुनसक्ने प्रहरीकाे आशंका रहेकाेछ । प्रहरीले  सरिताका श्रीमानकाे खोजी गरिरहेकाे बताएकाे छ । प्रहरीले मृतकका सासु ससुरा र जेठानी जेठाजुलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेकाे छ ।

स्थानीय महादेव प्राविकी शिक्षिका समेत रहेकी सरीताकाे शव पोष्टमार्टमको लागि अस्पताल लगिएको छ । प्रहरीले मृतकको घाँटीमा गम्भीर चोट र शरीरमा निल डाम देखिएकाले यातनापछि हत्या गरिएकाे हुनसक्ने बताएकाे छ ।

प्रकाशित मिति : 22:02