१३ असार २०८३, शनिबार | Sat Jun 27 2026

एएफसी यू–१९ महिला च्याम्पियनसिपः अष्ट्रेलियासँग बराबरी खेल्ने नेपालको लक्ष्य

१३ वैशाख, काठमाडाैँ । एशियाली फुटबल महासङ्घ (एएफसी) यू–१९ महिला च्याम्पियनसिप छनोटअन्तर्गत दोस्रो चरणको छनोटको पहिलो खेलमा नेपालले आज बलियो टोली अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ । दोस्रो चरणको छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित म्यान्मा पुगेको नेपालले पहिलो खेलमा अष्ट्रेलियासँग खेल्न लागेको हो । म्यान्माको मण्डलेस्थित मण्डलर थिरी मैदानमा नेपाल र अष्ट्रेलियाबीचको खेल नेपाली समयानुसार दिउँसो ३ः१५ बजे शुरु हुनेछ ।

समूह ‘ए’ कै बलियो टोली अष्ट्रेलियाविरुद्ध नेपाल कम्तीमा बराबरी खेल्ने लक्ष्यसहित मैदान उत्रने मुख्य प्रशिक्षक हरिओम श्रेष्ठले बताउनुभयो । “हाम्रो लक्ष्य कम्तीमा बराबरी हो, अघिल्लो चरणमा पुग्न पनि हामीलाई आज एक अङ्क बटुल्नुपर्नेछ”, उहाँले भन्नुभयो । फिफा वरियतामा अष्ट्रेलिया ४१औँ स्थानमा रहेको छ भने नेपाल १६०औँ स्थानमा रहेको छ । त्यसैले अष्ट्रेलिया नेपालभन्दा निकै बलियो टोली हो । चीनमा एक साता अभ्यास गरेको नेपाली टोली उच्च मनोबलका साथ मैदानमा उत्रने छ । चीनको सिचुवानमा अभ्यास गरेको नेपालले चीनको यू–१५ महिला टोली र छन्दु प्रान्तको यू–१८ टोलीसँग अभ्यास खेलसमेत खेलेको थियो ।

छनोटमा अष्ट्रेलियापछि नेपालले वैशाख १५ मा उज्बेकिस्तान र १७ गते म्यान्मासँग खेल्नेछ । छनोटको शीर्ष टोलीले एएफसी यू–१९ च्याम्पियनसिपमा स्थान बनाउने छन् । गत कात्तिक दोस्रो साता थाइल्याण्डमा भएको पहिलो चरणको छनोटमा नेपाल उपविजेता बन्दै दोस्रो चरणमा प्रवेश गरेको थियो । नेपालले तीन खेलबाट छ अङ्क बनाउँदै दोस्रो चरणमा स्थान बनाएको थियो ।

सरु लिम्बूको कप्तानीमा रहेको नेपाली टोलीमा गोलकिपर अञ्जना रानामगर, रेबिका राई, उषा नाथ, डिफेण्डरमा निशा थोकर, रोजिना श्रेष्ठ, सुष्मा महर्जन, समीक्षा घिमिरे, विमला विश्वकर्मा, पूजा रानामगर, सलोनी रानामगर, सबिता रानामगर, मिडफिल्डरमा, मञ्जलीकुमारी योञ्जन, मेनुका आलेमगर, अस्मिता वैद्य, मनिषा राउत, सुहानी कुशुवार, प्रीति राई, सम्झना लावती र स्ट्राइकरमा रश्मीकुमारी घिसिङ, एलिशा जिम्बा, रेखा पौडेल तथा निर्मला उपाध्याय रहेका छन् । रासस

प्रकाशित मिति : April 26, 2019 at 11:10 am