८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

तनहुँकाे बन्दीपुर गाउँपालिकाले गर्याे सिद्ध गुफाभित्र कार्यपालिकाको बैठक

११ वैशाख, दमौली । तनहुँ बन्दीपुर गाउँपालिकाले दक्षिण एशियाकै ठूलो दाबी गरिएको सिद्धगुफाभित्र कार्यपालिकाको बैठक सम्पन्न गरेको छ । बन्दीपुर गाउँपालिका–५ विमलनगरस्थित सिद्धगुफाको प्रचारप्रसार गरी पर्यटक आकर्षित गर्ने उद्देश्यसहित गाउँपालिकाको ४१ औँ कार्यपालिकाको बैठक मङ्गलबार सो गुफाभित्र सम्पन्न गरेको हो ।

पर्यटकीय तथा धार्मिकस्थलको प्रचारप्रसारका लागि गाउँपालिकाले प्रत्येक वडामा पुगेर कार्यपालिकाको बैठक गर्ने नीतिबमोजिम सिद्धगुफाभित्र बैठक सम्पन्न गरेको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सिद्धगुफाको प्रचारप्रसार गरी पर्यटकलाई आकर्षित गर्ने उद्देश्यसहित कार्यपालिकाको बैठक नै गुफाभित्र गर्यौँ ।”

दक्षिण एशियाकै ठूलो दावी गरिएको तनहुँको बन्दीपुर गाउँपालिका–५ विमलनगर स्थित सिद्धगुफामा सम्पन्न गाउँ कार्यपालिकाको ४१ औ बैठकमा सहभागी अध्यक्ष, उपाध्यक्ष लगायत सदस्यहरु । तस्वीरः कृष्ण न्यौपाने, दमौली, (तनहुँ), रासस

गुफाभित्र बसेको बैठकले कार्यपालिका सदस्य गिरबहादुर बस्यालको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति गठन गरेको छ । राष्ट्रिय प्रसारण लाइनको विद्युत् उपभोग गर्न वञ्चित रहेका २२ घरमा सौर्य ऊर्जा प्रणाली जडानका लागि रु सात लाख ७३ हजार बजेट विनियोजन गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिनुभयो ।

बैठकले गोबर ग्याँस जडानका लागि रु तीन लाख ३६ हजार, नौ जना माछापालक कृषकलाई रु छ लाख, विपन्न परिवारलाई स्वास्थ्य बीमाका लागि थप रु तीन लाख बजेट विनियोजन गर्ने निर्णय गरेको छ । बैठकले बन्दीपुर अस्पतालमा सञ्चालन गर्न लागिएको शल्यक्रिया सेवाका लागि चाहिने आवश्यक औषधि खरीद गर्ने, दररेट निर्धारण गर्ने, चालू शीर्षकमा रहेका केही बजेटलाई रकमान्तर गर्ने, ढल निकास पोखराबाट प्राप्त रु ४० करोड बजेटबाट वडा नं ४ को टुँडिखेल र झप्री ओदाने पोखरीमा ढल निकासको अनुमति दिने निर्णयसमेत गरेको छ ।

पृथ्वी राजमार्गको तनहुँको डुम्रेबाट दुई किलोमिटर पूर्व विमलनगरमा अवस्थित सिद्ध गुफा समुद्री सतहबाट ६०० मिटरमाथि विमलनगरको ठीक दक्षिण भागमा पर्दछ । विसं २०४४ चैत १३ गते शनिबार अर्थात् सन् १९८८ मार्च २६ मा स्थानीय चन्द्रबहादुर सम्लिङ थापामगर, दुर्गाबहादुर थापामगर, नरबहादुर थापामगर, नारायणबहादुर कुमाल र तत्कालीन नोट्रेडेम उच्च माध्यमिक विद्यालय बन्दीपुरका शिक्षक भारतीय नागरिक वारेन्ट क्वाड्रससमेत पाँच जनाको समूहद्वारा पहिलोपटक यो गुफा पत्ता लगाएको थियो ।

पुरातत्वविद्का अनुसार प्राकृतिक बनावट, भौगोलिक उथलपुथल र जीवन सुरक्षाका लागि मानवद्वारा निर्मित, धार्मिक एवं ऐतिहासिक पुरातात्विक महत्वको यस गुफालाई अन्दाजी तीन हजार ५०० वर्ष पुरानो मानिएको छ । शुरुमै गुफाभित्र फेला पारिएका पुरातात्विक प्राचीन वस्तु अक्षर मेटिएको तामाको पैसा, माटोबाट बनेको टुक्रीको पानीको घैटो, सुराहीको आधा भाग, पाला, धुपाउरो, पानस, जनावरको दारा, र टेराकोटाको शुल्पा र सानो थाल जस्तो आदि १६ र १७ औँ शताब्दी अघिको अनुमान गरिएको छ ।

सिद्धगुफा विकास समितिका अध्यक्ष लालकुमार श्रेष्ठले गुफा अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने क्रम बढेको जानकारी दिनुभयो । रासस

प्रकाशित मिति : 13:47