१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

रीना बस्नेतको रहस्यमय मृत्यु भएपछि पथरी शनिश्चरेमा तनाब, प्रहरीद्धारा २ राउण्ड अश्रुग्यास प्रहार

१० वैशाख, उर्लावारी । मोरङको पथरी शनिश्चरे नगरपालिका–१ मा २९ वर्षीया रीना बस्नेतको रहस्यमय अवस्थामा शव फेला परेपछि अपराधी पत्ता लगाउन माग गर्दै आएका आन्दोलित स्थानीयवासी र प्रहरीबीच आज दिउँसो झडप भएको छ ।

आन्दोलित पक्षले पथरी शनिश्चरेस्थित इलाका प्रहरी कार्यालयमा ढुङ्गा प्रहार गरेर प्रवेशद्वार तोडफोड गर्न खोजेपछि भिडलाई नियन्त्रणमा लिन प्रहरीले २ राउण्ड अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोजकुमार केसीले जानकारी दिनुभयो ।

प्रहरीको लाठी प्रहारबाट पथरी शनिश्चरे–१ का जीतबहादुर लावती घाइते हुनुभएको छ । उहाँको स्थानीय पथरी अस्पतालमा उपचार भइरहेको छ । आन्दोलित पक्षले पथरी शनिश्चरे नगरपालिकाविरुद्ध समेत नाराबाजी गर्दै कार्यालयको प्रवेशद्वार तोड्नुका साथै कार्यालयमा तालाबन्दी गरेका छन् ।

पथरी उद्योग वाणिज्य सङ्घको कार्यालयमा समेत तालाबन्दी गरी स्थानीयवासीको भीड इलाका प्रहरी कार्यालय बाहिर नारावाजीमा उत्रिएको छ । सुरक्षा अवस्थालाई ख्याल गरेर बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ । आज बिहानैदेखि पथरी बजारका पसल बन्द गरेर स्थानीयवासी आन्दोलित बनेका थिए । बिहान १०.३० बजेदेखि स्थानीयवासीले पूर्व–पश्चिम राजमार्गसमेत अवरुद्ध गरेर लगातार नाराबाजी गरिरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठको नेतृत्वको टोलीले घटनाको छानबिनको जिम्मा लिएको छ । बस्नेतको रहस्यमय मृत्युसँग जोडिएका शङ्कास्पद अवस्थाका सुन्दरहरैंचा नगरपालिका–३ बस्ने ३८ वर्षीय कमल नेपाललाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पथरी शनिश्चरेका प्रहरी निरीक्षक कमल बजगाईँले जानकारी दिनुभयो ।

पथरी शनिश्चरे–१ त्रिवेणीचोक साझा लाइनमा डेरा बस्ने एसआरएस कस्मेटिक एण्ड गिफ्ट हाउसका सञ्चालक बस्नेतको रहस्यमय अवस्थामा गत वैशाख ७ गते बिहान स्थानीयवासीले शव फेला पारेका थिए । वैशाख ६ गते राति स्थानीय रङ्गशालामा सञ्चालन भएको साङ्गीतिक कार्यक्रम हेरेर १३ वर्षीय छोरा साइमनसँग ११ बजे कोठा फर्किएकी बस्नेत वैशाख ७ गते बिहानै आफ्नै कोठा अगाडि बाटोमा निर्वस्त्र अवस्थामा मृत फेला परेकी थिइन् । टाउकोमा चोट लागेको अवस्थामा घोप्टो परेको शव बिहान स्थानीयवासीले सडकमा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले हत्या नै भएको प्रमाण फेला पारिनसकेको बताए पनि स्थानीय तथा आफन्तले उनको नियोजित हत्या गरेको दाबी गरेका छन् । पथरी उद्योग वाणिज्य सङ्घका पूर्व उपाध्यक्ष कविता पराजुलीको संयोजकत्वमा २५ सदस्यीय सङ्घर्ष समिति गठन गरेर आफन्त र स्थानीयवासी आन्दोलित बनेका हुन् ।

प्रकाशित मिति : 17:55