नेपाली स्याटलाइट वान अन्तरीक्ष केन्द्रमा सफलतापूर्वक जोडियो
९ बैशाख, काठमाडौँ । अन्तरीक्षका लागि प्रक्षेपण गरिएको नेपालको आफ्नै भूउपग्रह ‘नेपाली स्याटलाइट वान’ पृथ्वीको तल्लो कक्षमा अवस्थित अन्तराष्ट्रिय अन्तरीक्ष केन्द्रमा जोडिएकाे छ ।
सोमबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले ललितपुरको खुमलटारस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी सो स्याटलाइट वान पृथ्वीको सतहबाट ४ सय किलोमिटर उचाईमा रहेको पृथ्वीलाई परिक्रमा गर्ने तल्लो कक्षमा अवस्थित अन्तराष्ट्रिय अन्तरीक्ष केन्द्रमा जोडिएकाे जानकारी गराएको हो ।

जापानमा विद्यावारिधि गरिरहेका नेपाली बैज्ञानिकद्धय आभास मास्के र इन्जिनियर हरिराम श्रेष्ठले निर्माण गरेको सो नेपाली स्याटेलाइट वान गत बैशाख ५ गते नेपाली समय अनुसार बिहान २ बजेर ३१ मिनेट जाँदा अमेरिकाको भर्जिनियास्थित नासाको रकेट प्रक्षेपण केन्द्रबाट अन्तराष्ट्रिय अन्तरीक्ष केन्द्रका लागि पठाइएको थियो । सो स्याटलाईट ३६ घण्टा ४० मिनेटपछि बैशाख ६ गते नेपाली समय अनुसार दिउँसो ३ बजेर १३ मिनेट जाँदा अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रमा जोडिन सफल भएको हाे ।
अवको करिव डेढ महिना पछि सो नेपाली स्याटलाईटले अन्तरीक्षमा रही पृथ्वीको परिक्रमा गर्नुका साथै प्रतिष्ठानमा निर्माण गर्न लागिएको ग्राउन्ड स्टेशनमा समेत सम्पर्क स्थापित गर्नेछ ।
प्रकाशित मिति : 15:17







