१ सय ३८ जनाको ज्यान जानेगरी श्रीलंकामा भएकाे बिष्फोटप्रति प्रधानमन्त्री ओलीद्वारा दुःख ब्यक्त
८ बैशाख, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकामा भएको बम बिस्फोटनको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई एक समवेदना सन्देस पठाउँदै प्रधानमन्त्री ओलीले घटनाप्रति दुःख व्यक्त गरेका हुन् ।
आज विहान श्रीलंकाको राजधानी कोलम्बोसहित तीन जिल्लाका चर्च र होटलमा श्रृखंलाबद्ध बम आक्रमण हुँदा १ सय ३८ जनाको मृत्यु भएको छ भने ५ सय भन्दा बढी घाइते छन ।

‘आज विहान श्रीलंकका विभिन्न सार्वजनिक स्थानहरुमा भएको श्रृंखलावद्ध वम आक्रमणमा परी कैयौं निर्दोषहरुले जीवन गुमाउनु परेको घटनाले मलाई अत्यन्त दुःखी बनाएको छ,’ श्रीलंकाली प्रधानमन्त्रीलाई सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले भनेका छन् । प्रधानमन्त्री ओलीको सन्देशमा नेपाल सरकारले मानवता विरोधी जघन्य घटनाको भत्सर्ना गरेको पनि उल्लेख गरेका छन् ।
प्रधानमन्त्री ओलीले सन्देशमा नेपाल सरकार र सम्पूर्ण नेपाली जनताको तर्फबाट घटनाका मृतकप्रति श्रद्धान्जलि व्यक्त गर्दै शोकाकूल परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् । । ‘दुःखको यस घडीमा हामी श्रीलंकाका मिलनसार जनताका साथ उभिएका छौ । म घटनामा परी घाइते हुनु भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु,’ प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ ।
यसैबीच श्रीलंका भएको बिष्फोटमा कुनै पनि नेपाली नागरिक हताहत वा घाइते नभएको कोलम्बोस्थित नेपाली दुतावासले जनाएको छ ।
प्रकाशित मिति : 17:35







