८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

नेकपाकाे एकताले भाेलि पूर्णता पाउने, पाेलिटब्यूराे पनि घाेषणा हुँदै

८ बैशाख, काठमाडौँ । नेकपाकाे एकताले साेमबार पुर्णता पाउने भएकाे छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी स्थापना दिवसकै दिन एकता प्रक्रियाका बाँकी काम टुंगो लगाउने निश्कर्षसहित गृहकार्य अन्तिम चरणमा पुर्याएको छ । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस २२ अप्रिल अर्थात बैशाख ९ गते जिल्ला अध्यक्ष र सचिवका साथै पोलिटव्यूरो सदस्यहरुको नाम सार्वजनिक गर्ने तयारी भएको हो ।

जिल्ला कमिटीका अध्यक्ष र सचिवका साथै पोलिटव्यूरो र उपत्यका विशेष प्रदेश कमिटीका पदाधिकारीहरुको नाम टुंगो लगाउन शीर्ष नेताबीच आइतवार पनि छलफल जारी छ ।

आजै साँझ बस्ने नेकपा सचिवालय बैठकले जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगाउने महासचिव विष्णु पौडेलले बताएका छन् । त्यसअघि दुई अध्यक्षले पदाधिकारीको अन्तिम प्रस्ताव तयार पारेर सचिवालयमा पेश गर्ने सहमति भएको छ । आज विहान बालुवाटारमा अध्यक्षद्वय ओली, प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव पौडेलबीच भएको छलफलपछि यो समझदारी भएको हो ।

यसअघि शुक्रबार दुवै अध्यक्षको परामर्शपछि महासचिव पौडेलले शनिवार बिहानै बरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरेका थिए । पौडेल आइतबार बिहानैदेखि शीर्ष नेताहरुसँग परामर्शमा छन् ।

महासचिव पौडेलले पार्टी एकताको बाँकी कामलाई टुंगो लगाउन अन्तिम चरणको छलफल चलिरहेको बताए । सोमबार पार्टी स्थापना दिवसको अवसरमा विशेष कार्यक्रम हुन लागेको र त्यहाँ पार्टी एकताका बाँकी सन्दर्भ पनि सार्वजनिक हुने सम्भावना रहेको जानकारी दिए ।

महासचिव पौडेलले पार्टीभित्र नेताहरुबीच अनेकता र विवादको सन्देश जान नदिन पहल गरिरहेका छन् । उनले यसबीचमा अध्यक्षहरुकै अनुमतिमा बरिष्ठ नेता नेपालसँग छलफल गरेका थिए । पछिल्लो छलफल सकारात्मक रहेको र बीचमा छलछाम नगरिए जिल्ला कमिटीका पदाधिकारी र पोलिटव्यूरो चयनमा ठूलो विवाद नरहने नेपाल निकट स्रोतले बताएको छ ।

लामो समयदेखि एकता प्रक्रियाको बाँकी काम अल्झिँदा सरकारको राम्रा कामसमेत ओझेलमा पर्न थालेका छन भने पार्टी कार्यकर्ता निशास हुन थालेका छन । यही यथार्थलाई मध्यनजर गरी शीर्ष नेताहरूले पार्टी स्थापना दिवसमै टुंग्याउने गरी लगातार निर्णायक गृहकार्य गरेका हुन् ।

प्रकाशित मिति : 13:51