८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

प्रधानमन्त्री ओलीद्धारा ज्येष्ठ नागरिक स्वास्थ्य बीमा र बैँक खाताका लागि राष्ट्रिय अभियानको शुभारम्भ

१ वैशाख, काठमाडाैँ । नयाँ वर्षका अवसरमा आज नेपाल सरकारले ज्येष्ठ नागरिक स्वास्थ्य बीमा र सबै नेपालीलाई बैँक खाता खोलाउने राष्ट्रिय अभियानको शुभारम्भ गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न ज्येष्ठ नागरिकको उपस्थितिमा सो ‘ज्येष्ठ नागरिक स्वास्थ्य बीमा तथा समृद्धिसँग जोडौँ नाता, सबै नेपालीको बैँक खाता’ राष्ट्रिय अभियानको शुभारम्भ गरेका छन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य बीमा बोर्ड, नेपाल राष्ट्र बैँक र नेपाल बैँकर्स एशोसिएसनले राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा ज्येष्ठ नागरिकका लागि रु एक लाखसम्मको स्वास्थ्य बीमा घोषणा गरेको हो । सो बीमाको नेपाल सरकारले प्रिमियम तिर्नेछ । हाल मुलुकका ७५३ स्थानीय तहमध्ये ७१३ तहमा संस्थागत वित्तीय पहुँच पुगेको छ भने चालू आर्थिक वर्षको अन्त्यसम्मका सबै तहमा वित्तीय पहुँच पुग्ने बताइएको छ ।

बैंक खाता खोल्दा कुनै पनि शुल्क लाग्ने छैन । बरु आफूले खोलेको खातामा वाणिज्य बैंकहरुले नै सामाजिक उत्तरदायित्वअन्तर्गत एक सय रुपैयाँ जम्मा गरिदिने छन् । सबै स्थानीय तहमा वित्तिय पहुँच पुगेपछि सबै प्रकारका भुक्तानी बैँकबाट हुनेछ । यसले वित्तीय साक्षरता, सामाजिक सुरक्षा, समावेशीता र समृद्धिको आधार तय गर्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति : 12:03