१० असार २०८३, बुधबार | Wed Jun 24 2026

सरकारबाट बाहिरिने निर्णय भएकाे छैनः अध्यक्ष यादव

२९ चैत, खोटाङ । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले आफ्नो पार्टीमा सरकारबाट बाहिरिने निर्णय नभएको बताउनुभएको छ । दिक्तेलमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले हालसम्म प्राप्त उपलब्धिलाई संस्थागत गर्ने, सङ्घीय गणतन्त्र, समावेशीता र पहिचानको मुद्दालाई संस्थागत गर्ने मुद्दा पूरा नहुने अवस्था आएमा मात्र आफ्नो पार्टी सरकारबाट बाहिरिने बताए ।

राजनीतिक कारण, मधेशी, आदिवासी, जनजाति, महिला, दलित र पिछिडिएका वर्गका मुद्दा अहिले पनि सम्बोधन हुन बाँकी रहेको उपप्रधानमन्त्री यादवले बताए । “हामीले उठाएका मुद्दालाई सम्बोधन गरेर जाने समझदारीअनुसार हामी सरकारमा गएका हौँ”, उहाँले भन्नुभयो, “जुन कामका लागि हामी सरकारमा समावेश भयौँ, त्यो भएन भने, हुन नसक्ने स्थिति भयो भने या गर्दिन भन्ने भयो भने त्यो बेला मात्र हाम्रो बाटो फरक हुन सक्छ ।”

उपप्रधानमन्त्री यादवलले मुलुकलाई गाँठो परेर बस्नबाट जोगाउँदै संविधान संशोधन लगायतका काम पूरा गर्न आफ्नो पार्टी सरकारमा सहभागी भएको स्पष्ट पारे । “हामी आएर यो सरकार बनेको पनि होइन । हामी नआउँदा सरकारको बहुमत जान्छ भन्ने पनि होइन । दुई तिहाइ पु¥याउन हाम्रो आवश्यकता थियो”, उनले भने, “संविधान संशोधनलगायत व्यवस्था सुधारको काम अगाडि बढोस् । हाम्रो पार्टी सरकारमा निश्चित लक्ष्यका लागि गएको हो । अन्यथा जुनसुकै समयमा बाहिरिन सक्छौँ ।”

उपप्रधानमन्त्री यादवलले गोजीमा पैसा नहुँदा उपचार गर्न नसकेर ज्यान गुमाउनुपर्ने बाध्यताको अन्त्यका लागि सरकारले स्वास्थ्य नीति कार्यान्वयन थालेको जानकारी दिए । “सरकारले हरेक जनतालाई स्वास्थ्य सेवाको पहुँचमा पुर्याउने लक्ष्य लिएको छ”, उनले भने, “स्वास्थ्य नीति लागू भएपछि कुनै पनि व्यक्ति उपचार खर्च अभावमा स्वास्थ्य उपचारबाट वञ्चित हुनुपर्दैन ।”

प्रकाशित मिति : April 12, 2019 at 12:32 am