राष्ट्रिय सहमतिविना समृद्धिको यात्रा सम्भव छैनः अध्यक्ष प्रचण्ड
२७ चैत, चितवन । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास र समृद्धिको यात्रा राष्ट्रिय सहमतिविना सम्भव नभएको बताएका छन् । माडी क्याम्पसको प्रथम ऐतिहासिक सभालाई आज सम्बोधन गर्दै विकासमा प्रतिपक्ष र सत्तापक्ष नभनी एकजुट भएर लाग्नुपर्ने बताए ।
उनले नेपालमा अहिलेसम्मको राजनीतिक परिवर्तन राष्ट्रिय सहमतिबाटै सम्भव भएको बताउँदै भने, “विकास र समृद्धिको नयाँ यात्रा पनि राष्ट्रिय सहमतिबाटै अगाडि बढाउनुपर्छ ।” शिक्षा क्षेत्रको विकासबाटै देशको विकास सम्भव हुने भन्दै उनले भने, “हाम्रा पुर्खा अशिक्षित भएर पनि बैरीसँग लडे, उनीहरुले निर्यात बढाए, हामी शिक्षित भएर पनि आयात बढाउँदैछौँ ।” शिक्षालाई उत्पादनमुखी बनाउन आवश्यक रहेको उनकाे भनाइ थियो ।

शिक्षित युवा विदेश पलायत हुँदै गएको र यहाँ बालबालिका मात्रै रहेको भन्दै उनले यसले देशको विकास नहुने बताए । शिक्षामा सार्वजनिक र निजी सहकार्यका लागि उचित सन्तुलनसहित अघि बढ्नुपर्ने अध्यक्ष दाहालले बताए ।
निकुञ्जपारीको नगरपालिका माडी र भरतपुरका बीचमा दुई देशको जस्तो देखिएको बताउँदै उनले निकुञ्ज ऐन संशोधन गरेर माडीको विकास गर्नुपर्ने बताए । आगामी चार वर्षमा माडीको विकासमा कायापलट हुने बताउँदै उनले आउने वर्षमा सबैले देख्ने गरी माडीको रङ बदलिने बताए ।
राष्ट्रिय निकुञ्ज ऐन विसं २०२९ मा बन्दा माडीमा अहिलेजस्तो धेरै जनता नभएकाले त्यो ऐनले जनावर देख्ने तर जनता नदेख्ने उनकाे भनाइ थियो । “यो ऐन बदलेर यहाँ मान्छे पनि छन् भन्ने देखाउन बहस शुरु गरेको छु । बैठक गरेको छु प्रधानमन्त्रीसँग, वनमन्त्रीसँग, कर्मचारीसँग”, उनले भने, “राजनीतिक नेतृत्वले भनेको कुरा कर्मचारीतन्त्रले सजिलै मान्दैनन् । कर्मचारीतन्त्र कन्जरभेटिभ हुँदो रहेछ । राजनीतिक नेतृत्व सधैँ परिवर्तनका पक्षमा छ ।”
प्रकाशित मिति : 19:37









