१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

सहयोगी कर्मचारीहरुका लागि सहकारी बैंकको क्षमता अभिवृद्धि तालिम

२३ चैत, पोखरा । राष्ट्रिय सहकारी बैंकको आयोजनामा बैंकका सहयोगी तहका कर्मचारीहरुका लागि पोखरामा आयोजित ३ दिने दक्षता अभिवृद्धि तालिम तथा भ्रमण कार्यक्रम शनिवार पासम्पन्न भएको छ । कार्यालयमा सबै भन्दा पहिला शेयर सदस्य लगायत सेवा लिन आउनेहरुसंग सम्पर्क हुने सहयोगी स्तरका कर्मचारीहरुको क्षमता अभिवृद्धि गरी बैंकको सेवालाई थप प्रभावकारी बनाउन तथा समन्वयकारी भूमिका लागि तालिम आयोजना गरिएको बैंकले जनाएको छ ।

कार्यक्रममा कर्मचारीहरुलाइ सञ्चार सिप, आपसी सम्बन्ध निर्माण सिप, सकारात्मक सोचाइ निर्माण सिप लगायतका विषयहरुमा प्रशिक्षण दिइएको छ । कर्मचारी प्रशिक्षण प्रतिष्ठान ललितपुरका प्रशिक्षक शोभा कट्टेल र बैंकका बरिष्ठ अधिकृत एवम् शिक्षा तथा तालिम विभाग प्रमुख मिना कुमारी शर्माले सहजीकरण गर्नु भएको थियो ।

सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेतीले बैंकको लक्ष्य तथा उदेश्य अनुरुप सेवा सुविधा प्रदान गर्नका लागि सहयोगी कर्मचारीको भूमिका अत्यन्तै महत्वपूर्ण हुने भएकाले तालिम प्रभावकारी हुने धारणा राख्नु भएको थियो । उहाँले योग्यता क्षमता बढाउदै अगाडि बढ्न तथा इमान्दार र कर्तव्यनिष्ट भएर काम गर्न आग्रह गर्नु भएको थियो ।

तालिम समापनका अवसरमा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जि.सी.ले तालिममा सिकेको ज्ञानलाई व्यवहारमा उतार्न आग्रह गर्नु भयो । तालिमबाट प्राप्त ज्ञान र सीपबाट आफ्नो दक्षता अभिवृद्धि गर्न नसकेमा प्रमाणपत्र केवल कोरा कागज मात्रै हुने भन्दै उहाँले इमान्दारीताका साथ काम गरेर पहिचान बनाउन सुझाव दिनु भयो ।

उपत्यकाका सबै शाखा र ७ वटै प्रदेश सदरमुकाममा रहेका शाखा कार्यालयका २२ जना सहयोगी कर्मचारीहरुको तालिममा सहभागिता रहेको थियो । बैंकले पहिलो पटक सहयोगी स्तरका कर्मचारीहरुका लागि तालिम राखेर आफुहरुलाई उत्साहित बनाएको र आगामी दिनमा थप प्रभावकारी काम गर्ने प्रतिवद्धता सहभागिहरुले गरेका छन् ।

 

प्रकाशित मिति : २३ चैत्र २०७५, शनिबार २२:००