७ बैशाख २०८३, सोमबार | Tue Apr 21 2026

श्रमिकको गुनासो सुन्न श्रम मन्त्रालयमा कल सेन्टर, गुनासो सम्बोधन भए/नभएको मन्त्रीले अनुगमन गर्ने

१८ चैत, काठमाडाैँ । श्रमिकको गुनासो सुन्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सिंहदरबारमा कल सेन्टर स्थापना गरेको छ । कल सेन्टरको सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले उद्घाटन गरे । उनले राेजगारीका लागि विदेशमा गएका वा स्वदेशमै रहेका श्रमिकहरुकाे गुनासो चाँडोभन्दा चाँडो सम्बाेधन गर्नका निम्ति मन्त्रालयमै कल सेन्टर सञ्चालनमा ल्याएको बताए । उनले श्रमसम्बन्ध, आन्तरिक तथा वैदेशिक राेजगार र सामाजिक सुरक्षा क्षेत्रसँग सम्बन्धित सेवाग्राही एवं सराेकारवालाहरुका समस्या, जिज्ञासा, गुनासा र सुझावहरु प्रत्यक्ष सङ्कलन र सम्बाेधन गर्नेगरी कल सेन्टरकाे स्थापना भएको स्पष्ट पारे ।

मन्त्री विष्टले श्रम मन्त्रालय अन्तर्गतका निकायमा कुनै पनि सेवाग्राहीले काम नभए गुनासो गर्न सक्ने र त्यसको तत्कालै सम्बोधनको प्रयास गरिने बताए । उनले वैदेशिक रोजगारमा रहेका र नेपालकै श्रमबजारमा काम गरिरहेका श्रमिकहरूलाइ पनि कलसेन्टरबाट लाभ लिन अनुरोध गरे । कल सेन्टर मार्फत अाएका गुनासो सम्बोधनको अवस्थाका बारेमा मोबाइल एप्समार्फत मन्त्रीको मोबाइलबाटै मनिटरिङ गर्न मिल्ने व्यवस्था मिलाइएको छ ।

कल सेन्टरमार्फत मन्त्रालयले मुख्यगरी वैदेशिक राेजगार विभाग, वैदेशिक राेजगार बाेर्डकाे सचिवालय, प्रधानमन्त्री राेजगार कार्यक्रम, सामाजिक सुरक्षा काेषकाे साथै मन्त्रालय मातहतका अन्य निकायहरूबाट भइरहेका काम कारबाहीबारे जिज्ञासा राख्ने, सराेकारवालाई जानकारी दिने, रचनात्मक सुझावहरु प्राप्त गर्ने र गुनासाहरुकाे सुनुवाइ गरी तत्काल समस्या समाधानकाे पहल गर्ने जनाएको छ ।

यस्तै वैदेशिक राेजगारीकाे क्षेत्रमा ठगीलगायतका समस्यामा परी न्यायकाे खाेजीमा रहेकाहरू, विदेशमा विभिन्न कारणले अलपत्र परेका वा स्वास्थ्य समस्याबाट पीडित भई घर फर्कन चाहनेहरु, विविध कारणले मृत्यु भएका र अलपत्र परेका नेपाली कामदारको शव नेपाल ल्याउन नसकी समस्या परेकाहरु, झुठा मुद्दामा परी जेल सजाय भाेगिरहेका कामदारहरुले साेझै कल सेन्टरमा सम्पर्क गर्न सकिने  छ ।

कल सेन्टर बिहान ७ देखि बेलुका ९ बजेसम्म सञ्चालन हुनेछ । कल सेन्टरमा एकै पटक ४ ओटा फाेन लिन सक्ने व्यवस्था रहेको छ । गुनासाहरु स्वेदशबाट ११४१ वा १६६००१५००५ मा तथा विदेशबाट ईमेल, फेसबुक, मेसेन्जर, ईमाे, भाइबरबाट निशुल्क ९७७१५९७०००८ मा सम्पर्क गर्न सकिने जनाइएको छ ।

प्रकाशित मिति : 15:33