सादा पोशाकमा नयाँ पत्रिका र दियो पोस्टको कार्यालय पुग्यो प्रहरी
१३ कात्तिक, काठमाडौँ । पत्रकार विश्वमणि सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नयाँ पत्रिका र दियो पोस्ट अनलाइनको कार्यालयमा पनि प्रहरी पुगेको छ।
अपराध अनुसन्धान कार्यालय टेकुबाट आएको भन्दै सादा पोशाकमा पाँच जना प्रहरी शुक्रबार नयाँ पत्रिका दैनिकको कार्यालय पुगेका थिए। उनीहरूले संवाददाता नवराज मैनालीलाई साइबर ब्यूरोमा लैजानुपर्ने भन्दै उनको कार्यकक्षमा बसेर सोधखोज गरेका छन्।
नयाँ पत्रिकाका सम्पादक खगेन्द्र पन्तका अनुसार, प्रहरीसँग मैनालीलाई पक्राउ गर्न जारी गरिएको पुर्जी थिएन। प्रहरीले उनलाई उपस्थित गराउनुपर्ने भन्दै कार्यालयमा कुराकानी गर्न खोजेको पन्तले बताएका छन्।

त्यस्तै, अनामनगरस्थित दियो पोस्ट अनलाइनको कार्यालयमा पनि चार जना प्रहरी पुगेका छन्। त्यहाँ पुगेका प्रहरीले प्रधानसम्पादक सुदीप विश्वकर्मा र समाचार संयोजक मदन ढुंगानासँग कुराकानी गर्नुपर्ने भन्दै कार्यालयमा आएको जानकारी दिएका थिए।
यसअघि नेपाल प्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
प्रकाशित मिति : October 30, 2026 at 6:43 pm










