३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

हुरीबाट घाइते भएकाहरूलाई भेट्न शिक्षण अस्पताल पुगे शिक्षामन्त्री, उपचार खर्चको चिन्ता नलिन आग्रह

१८ चैत, काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल शिक्षण अस्पताल महाराजगञ्ज पुगेर बारा र पर्साबाट उपचारका लागि ल्याइएका घाइतेलाई भेटेर स्वास्थ्यलाभको कामना गरेका छन । घाइतेलाई भेटेपछि पत्रकारहरूसँग कुराकानी गर्दै शिक्षामन्त्री पोखरेलले सात जनामध्ये २ जनाको अवस्था गम्भीर रहेको बताए ।

‘घाइतेहरूको सिटिस्क्यान भइसकेको छ। अपरेसन गर्ने तयारी हुँदै छ,’ पोखरेलले भने, ‘घाइतेको उपचार स्वास्थ्यकर्मीले सूक्ष्म ढंगले हेरेर गर्दै हुनुहुन्छ।’ स्रोत साधन प्रयोग गरेर घाइतेको उपचार गर्न आग्रह गरेको उनले बताए। उपचार खर्चको विषयमा चिन्ता लिनुनपर्ने उनले बताए ।’घाइतेको सरकारी अस्पतालमा उपचार भइरहेको छ। खर्चको चिन्ता लिनुपर्दैन,’ उनले भने, ‘घाइतेको उपचार राज्यले गर्छ। सरकारले गर्छ।’

बारामा अाइतबार अाएको हुरीबाट घाइते भएका सात जनाको उपचार त्रिवि शिक्षण अस्पतालमा भैरहेको छ । शिक्षण अस्पतालमा महमद मियाँ, गीतादेवी कट्टेल, समिना खातुन, अमन कट्टेल, मुनाफ अनसरी, कृष्ण पटेल, सुरेश पटेलको उपचार भइरहेको छ। गम्भीर घाइते ७ जनालाई थप उपचारका लागि सोमबार बिहान सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो।

प्रकाशित मिति : 15:01