हरेक दिन नेपाल विकासको तीव्र गतिमा अघि बढिरहेको छः प्रधानमन्त्री ओली
१८ चैत, झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिन नेपाल विकासको तीव्र गतिमा अघि बढिरहेको बताउनुभएको छ । देशमा चौतर्फी विकास हुँदैआएको उल्लेख गर्दै उहाँले अब देशले छिट्टै समृद्धिको लक्ष्य हासिल गर्ने ठोकुवा गर्नुभयो । गृहनगर झापाको दमक–७ स्थित पशुहाट क्षेत्रमा नवनिर्मित पशुपंक्षी हाटबजारको उद्घाटन तथा हस्तान्तरण कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकलाई अब समृद्ध र समुन्नत बनाउने महाअभियानमा सबै जुट्नुपर्ने बताउनुभयो । देशको विकासमा कृषि क्षेत्रको भूमिका महत्वपूर्ण भएको पनि उहाँले प्रष्ट पार्नुभयो ।
‘कृषि बजारलाई व्यवस्थित बनाउँदै यसको विकास गर्न वर्तमान सरकार प्रयत्नशील छ,’ प्रधानमन्त्री ओलीको भनाई थियो । देशको विकासमा सबैको सहभागिता भएमात्र देश विकासको प्रतिफल प्राप्त हुने उहाँको भनाइ थियो । त्यस अवसरमा प्रधानमन्त्री ओलीले पशुपक्षी हाटबजारको प्रशासनिक भवन तथा बजारको समेत उद्घाटन गर्नुभएको थियो । पशुपक्षी हाटबजार नेपाल सरकार तथा विश्व बैंकको संयुक्त लगानीमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गत कृषि तथा व्यापार आयोजना र नेपाल लाइफस्टक सेक्टर एनोभेसनको आयोजनामा निर्माण भएको हो ।

कार्यक्रममा कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनाल, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, दमक नगरपालिका प्रमुख रोमनाथ ओलीले पशुपक्षी हाटबजारको महत्वका बारेमा प्रकाश पार्नुभएको थियो ।
प्रकाशित मिति : 12:15









