१० महिनापछि मलेसियामा कामदार पठाउन सुरू, कलिङ भिसा आएकाले श्रम स्वीकृति पाउँदै
१७ चैत, काठमाडाैँ । झण्डै १० महिनापछि मलेसिया कामदान पठाउन सुरू भएको छ । सरकारले कलिङ भिसा आएका कामदारलाई मलेसिया जान श्रम स्वीकृति दिन थालेपछि केही महिनाको अन्याैलता समेत अन्त्य भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्देशनपछि वैदेशिक रोजगार विभागले श्रम कार्यालय ताहाचलाई पत्र लेखेर कलिङ भिसा आएकाहरुलाई मलेसिया जान अन्तिम श्रम स्वीकृति दिन अनुमति दिएको छ ।

विभिन्न संस्थाले सिण्डिकेट खडागरी कामदार ठग्न थालेपछि श्रममन्त्री गोकर्ण विष्टले कारबाही प्रक्रिया अघि बढाएका थिए । कारबाही प्रक्रिया सुरू गर्दै मन्त्रालयले गत जेठ १२ गतेबाट मलेसियाका लागि श्रम स्वीकृति दिन रोकेको थियो । सरकारले सिण्डिकेटधारी व्यवसायीलाइ पक्राउ गरेर अदालतमा दायर गरेको मुद्दा अहिले पनि विचाराधिन अवस्थामा रहेको छ ।

सरकारले केही समयभित्रै नयाँ कामदारलाई पनि मलेसिया जान दिने गरी प्रक्रिया अघि बढाउँदै छ । मलेसियाले स्वास्थ्य परीक्षणको मापदण्ड पठाइसकेकाले कामदारको स्वास्थ्य जाँचमा योग्य नयाँ अस्पताल तथा स्वास्थ्य संस्थालाई सूचीकृत हुन सरकारले केहीदिन अघि सूचना जारी गरिसकेको छ ।
प्रकाशित मिति : 22:01









