श्रम मन्त्रालय अन्तर्गतको गुनासो सुन्न र सम्बोधन गर्न छुट्टै कल सेन्टर, भोलिदेखि सञ्चालन हुँदै
१७ चैत, काठमाडाैँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको गुनासो सुन्न र सम्बोधन गर्न छुट्टै कल सेन्टरको स्थापना भएको छ । मन्त्रालयको नेतृत्व सम्हालेदेखि नै नीतिगत सुधारको काम गरिरहेका मन्त्री गोकर्ण विष्टले भोलि सोमबार कल सेन्टरको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । देश, विदेशबाट सेवाग्राहीको गुनासो/जिज्ञासा सहज रुपमा प्राप्त गर्न र तत्काल सम्बोधन गर्नका लागि मन्त्रालयमै कल सेन्टर स्थापना गरिएको मन्त्री विष्टका प्रेस संयोजक मदन खनालले जानकारी दिए ।
उनले वैदेशिक राेजगार विभाग, प्रधानमन्त्री राेजगार कार्यक्रम, याेगदानमा अाधारित सामाजिक सुरक्षा, वैदेशिक राेजगार बाेर्ड लगायत श्रम, राेजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र मातहतका निकायहरूका सेवा एवं कार्यक्रमहरूबारे जानकारी लिन, सुझाव दिन वा गुनासाे व्यक्त गर्न सकिने खनालले बताए । सिधै फाेन वा इमेल, भाइवर, इमाे, मेसेन्जर अादि सामाजिक सञ्जालमार्फत् सिधै सम्पर्क गर्ने सकिने गरी मन्त्रालयमा कल सेन्टरकाे व्यवस्था भएको खनालले बताए ।

मन्त्रालय सञ्चालन गरेको कल सेन्टरमा ११४१ नम्बरमा डायल गरी जानकारी लिन वा गुनासाे गर्न सकिनेछ । मन्त्रालयले हालका लागि NTC प्रयाेगकताहरूका लागि ११४१ नम्बरमा डायल गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था छ भने NCELL प्रयाेगकर्ताहरूलाइ समेत निशुल्क हुने गरी व्यवस्था गरिदैछ । विदेशमा रहने नेपालीले भने भाइवर, इमाे, मेसेन्जर वा +977-1-5970008 बाट सशुल्क सम्पर्क गर्न सक्नेछन । वैदेशिक राेजगार बाेर्डकाे व्यवस्थापनमा सञ्चालन हुन लागेकाे याे सेवाबाट स्वदेश र विदेशमा रहेका नेपालीले लाभ लिन सक्नेछन ।
प्रकाशित मिति : 14:56









