११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

‘जो व्यक्तिहरु मेरो मृत्युमा दुःख मानिरहेछन, यदि म अहिले उठें भने यिनीहरुले नै बाँच्न दिंदैनन्’

–पवित्रा मुडभरी

१७ चैत, काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री खुमबहादुर खड्काको ६७ वर्षका उमेरमा उपचारका क्रममा भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा निधन भएपछि सामाजिक सञ्जाल दुःखका सन्देशले भरिए । केहीले खड्कालाई अदालतले भ्रष्टाचारी ठहरगरेको सन्दर्भ समेत उल्लेख गर्दै श्रद्धञ्जली दिँदै गर्दै धेरैले उनको महानताको राम्रो पक्षको स्मरण गरेका छन । कांग्रेसका प्रभावशाली नेता खड्का संस्थापक बिपी कोइरालाका भरपर्दा युवकका रुपमा रहेका थिए । विसं २०३३ पुस १६ गते बिपी राष्ट्रिय मेलमिलापको नीति लिएर निर्वासनबाट स्वदेश फर्कँदा खड्का उनीसँगै थिए । निर्वासनबाट बिपीसँग गणेशमान सिंह, शैलजा आचार्य, नीलाम्बर पन्थी, रामबाबु प्रसाईं र युवा नेता खड्का फर्किएका थिए ।

खड्काको निधनको समाचार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी गराए लगत्तै सामाजिक सञ्जाल र अनलाइन सञ्चारमाध्यममा खड्काको निधनको सामचार भाइरल बन्यो । यही बीचमा धेरैले खड्काप्रति श्रद्धाञ्जली दिए । कसैले राष्ट्रवादी नेताको रुपमा खड्कालाई सम्झिए त कतिले खड्काले भ्रष्टाचार गरे पनि कार्यकर्ताका लागि गरेका थिए भन्नेसम्मका तर्क गरे । यस्तै तर्कहरुको बीचमा नेपाली कांग्रेसकै नेता शोभाकर पराजुलीले फेसबुकमा एउटा स्टाटस लेखे । जुन स्टाटस हिजो कांग्रेसभित्र सक्रिय बन्न खोज्दा भ्रष्टाचारी भनेर सार्वजनिक रुपमा आलोचना गर्नेहरुविरुद्ध लक्षित थियो । उनले यस्तो लेखेका छन । लासले भन्यो –जो व्यक्तिहरु मेरो मृत्युमा दुःख मानिरहेछन, रोइरहेछन् .., यदि म अहिले उठें भने यिनीहरुले नै बाँच्न दिंदैनन् ।

त्यस्तै वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीले खड्कालाई यसरी सम्झिएका छन, ‘एक रास्ट्रबादी नेतालाई गुमाइयो आज ! उहाको हत्या त त्यसैदिन गरिएको हो जुन दिन चौरानब्बे लाख बराबरको सम्पत्तिको श्रोत खुलेन भन्दै अन्यायपूर्वक र पूर्वाग्रही ढङ्गले भ्रस्टाचारी प्रमाणित गर्न जेल पठाइएको थियो । बीपी कोइरालाको एकमात्र जीवित राजनीतिक चिनो को हत्या बार्ह बर्ष लगाएर धेरै थरीको संयुक्त कपटबाट भयो। खुम बहादुर खड्काको आत्माको चिर शान्तिकामना । हामी कहिल्यै बिर्सने छैनौ ।’

नेकपा एमालेका युवा नेता नवराज पौडेलले यसरी आक्रोश पोखेका छन
‘मृत्यु प्रिय नहुँदानहुँदै निर्विकल्प छ। मृत्युु पछि जिउँदो छदाको खराबीलाईसमेत महान भनेर श्रद्धाञ्जली दिँदा लाशलेपनि लाज मान्ने गरि शब्द खर्च नगरेकै राम्रो ! हैन र ?


कांग्रेस नेता अर्जुनरसिंह केसीले खड्कालाई यसरी सम्झिए
अलविदा खुमबहादुरजी
नेपाली काँग्रेसका नेता, मेरा प्रिय मित्र श्री खुमबहादुर खड्काजीको उपचारका क्रममा भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा आज चैत्र १६ गते असामयिक दुःखद निधन भएको खबरले म स्तब्ध र अत्यन्त दुःखी छु । लामो सहयात्रा र सहकार्यको क्रममा उहाँसँग मेरो आत्मीयता र घनिष्ठतालाई म यो दुःखद घडीमा सम्झिरहेको छु । पार्टीप्रति पूर्ण समर्पित स्व. खुमबहादुरजी २०३३ सालमा जननायक बीपी कोइराला, सर्बोच्च नेता गणेशमान सिंहलगायत पार्टीका केही नेताहरू लामो निर्वासनपछि स्वदेश फर्किने समुहमा उहाँ पनि हुनुहुन्थ्यो । राजनीतिमा आवश्यक हुने जुझारुपन, साहस, सङ्गठनकला र कार्यकर्ताहरूलाई स्नेही तथा न्यायोचित ब्यवहार गर्ने प्रशंसनीय गुणहरू उहाँमा थिए । उहाँको निधनले राष्ट्रलाइ ठूलो क्षती र लोकतन्त्रबादी हरुलाई शोकाकुल बनाएको छ । म उहाँको दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु र शोकसन्तप्त परिवारजन तथा आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।

प्रेस चौतारी नेपालका उपाध्यक्ष गणेश पाण्डेले खड्कालाई यसरी सम्झिए
विपी कोइरालाका अन्तिम चिनो काँग्रेसका नेता खुमबहादुर खडका विलाएका छन् । मेरो बुझाईमा खुमबहादुर राजनीतिक सँस्कार भएका एक नेता थिए, जो प्रतिगामी दरवारको प्रजातन्त्रको चिरहरण गर्ने योजनामा बाधक रहेकाले भ्रष्टचारको मुद्दा खेप्न वाध्य थिए । उनी भ्रष्टचारी थिएनन त भन्न सकिन्न तर यति भन्न सकिन्छ उनले गरेको भ्रष्टाचारले धेरै लाभान्वित भए तर आरोप र सजाय उनले मात्रै भोग्नु पर्यो दिवंगत आत्माको चिर शान्तिको कामनासहित आदरणीय खुमबहादुर खड्कालाई हार्दिक श्रद्दान्जली !

एकजना कानुन व्यवसायी फूर्वा तामाङले खुम्बहादुर श्रद्धाञ्जलीमा यस्ता शब्द खर्च गरे

जिवित हुँदा खमबहादुर खडकालाई भ्रष्टाचारी भने मरेपछि गहिरो दुस्ख व्यक्त गर्छन्।दुई जिब्रेहरु। म त यिनलाई राम्रोसंग चिन्दिनँ। तर पनि मृत्यू भन्दा दुखद केही छैन। मृतकको आत्माले शान्ति मिलोस!

प्रकाशित मिति : March 31, 2018 at 7:09 am