चार महिनामा २० अर्ब ४८ करोडको विद्युत् निर्यात
११ मंसिर, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा २० अर्ब ४८ करोड रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ । प्राधिकरणले साउनदेखि कात्तिकसम्म आन्तरिक खपतपछि बचत भएको वर्षायामको २ अर्ब ३८ करोड ८७ लाख युनिट विद्युत् भारत र बंगलादेशमा निर्यात गरेको हो । उक्त विद्युत् निर्यातबाट २० अर्ब ४८ करोड ३७ लाख रुपैयाँ आम्दानी भएको प्राधिकरणको केन्द्रीय भुक्तानी विभागको प्रारम्भिक तथ्याङ्क छ ।
चार महिनाको अवधिमा विद्युत् बिक्रीको औसत दर प्रतियुनिट ८ रुपैयाँ ५८ पैसा रहेको छ । कात्तिकमा मात्रै ५२ करोड ९३ लाख युनिट विद्युत् निर्यात गरी ४ अर्ब ६ करोड २५ लाख रुपैयाँ आम्दानी भएको छ । उक्त महिनाको औसत बिक्री दर प्रतियुनिट ७ रुपैयाँ ६८ पैसा रहेको प्राधिकरणले जनाएको छ ।
महिनागत विवरणअनुसार साउनमा ६२ करोड ९८ लाख युनिट विद्युत् निर्यात गरी ५ अर्ब १३ करोड ३९ लाख रुपैयाँ आम्दानी भएको थियो । भदौमा ५७ करोड ८७ लाख युनिट निर्यातबाट ५ अर्ब २२ करोड ९२ लाख रुपैयाँ प्राप्त भएको थियो । त्यस्तै, असोजमा सबैभन्दा बढी ६५ करोड ९ लाख युनिट विद्युत् निर्यात भएको थियो । उक्त महिनामा ६ अर्ब ५ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । असोजमा विद्युत् बिक्रीको औसत दर प्रतियुनिट ९ रुपैयाँ ३१ पैसा रहेको थियो ।

प्राधिकरणले आन्तरिक खपतपछि बचत भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) को डे-अहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री गर्दै आएको छ । द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताअनुसार भारतका हरियाणा र बिहार राज्यमा पनि विद्युत् निर्यात भइरहेको छ ।
त्यस्तै, नेपाल, भारत र बंगलादेशका निकायबीच भएको त्रिपक्षीय सम्झौताअनुसार बंगलादेशमा समेत विद्युत् निर्यात हुँदै आएको छ । प्रत्येक वर्ष वर्षायामको छ महिना अर्थात् जुन १५ देखि नोभेम्बर १५ सम्म बंगलादेशमा विद्युत् निर्यात गर्ने व्यवस्था छ । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ र बंगलादेशसँगको व्यापार अमेरिकी डलरमा हुने गरेको छ ।
गत आर्थिक वर्ष २०८२/८३ मा प्राधिकरणले ३ अर्ब ९७ करोड युनिट विद्युत् निर्यात गरी २९ अर्ब ३१ करोड रुपैयाँ आम्दानी गरेको थियो । सोही अवधिमा १ अर्ब १७ करोड युनिट विद्युत् आयात गरी १० अर्ब ५६ करोड रुपैयाँ भुक्तानी गरिएको थियो । गत आर्थिक वर्षमा विद्युत् आयातभन्दा निर्यातबाट १८ अर्ब ७५ करोड रुपैयाँ बढी आम्दानी भएको थियो । यससँगै नेपाल पछिल्ला दुई वर्षदेखि विद्युत्को खुद आयातकर्ताबाट खुद निर्यातकर्ता बनेको छ ।
प्रकाशित मिति : November 29, 2026 at 12:04 pm














