हकप्रद निष्काशनको प्रस्ताव पारित गर्न नेपाल पुनर्बीमाले बोलायो साधारण सभा
१३ मंसिर, काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा बाेलाएकाे छ । कम्पनीले पुस ६ गते कार्की ब्याङ्केट, बबरमहल, काठमाडौँमा दशौँ वार्षिक साधारण सभा बाेलाएकाे हाे । सो सभा बिहान ९ बजे शुरु हुनेछ।
सभाले कम्पनीमा रहेको नेपाल सरकारको विद्यमान ४४.०३९० प्रतिशत शेयर स्वामित्व नघट्ने गरी पूँजी वृद्धि गर्न सरकारबाट प्राप्त सहमतिअनुसार चालु आर्थिक वर्षमा नेपाल सरकारको तर्फबाट हकप्रद सेयरमा १ अर्ब रुपैयाँ लगानी प्राप्त हुने सुनिश्चित भएपछि सोही रकमको अनुपातमा हाल कायम चुक्ता पुँजीको १६.९१७६ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, नेपाल सरकारबाहेक संस्थागत लगानीकर्ताबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न दुई जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले मंसिर २४ गते बिहीबार बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर २३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागि हुन सक्नेछन्।
प्रकाशित मिति : November 29, 2026 at 9:10 am














