१२ मंसिर २०८३, शुक्रबार | Fri Nov 27 2026

आन्तरिक विवाद सकियो, अब स्थानीय चुनावको तयारीमा जुटौँः महामन्त्री संग्रौला

https://www.muktinathbank.com.np/online/loan-application

११ मंसिर, काठमाडौं ।  नेपाली कांग्रेसकी महामन्त्री डा. डिला संग्रौला पन्तले निर्वाचन आयोगबाट पार्टीको विधानसम्मत विवरण र आधिकारिकता अद्यावधिक भएसँगै लामो समयदेखिको आन्तरिक विवाद र वैधानिकताको प्रश्न सदाका लागि समाप्त भएको बताएकी छन् । पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा आफ्ना धारणा राख्दै उनले अब पार्टीभित्र अलमलिनुपर्ने कुनै कारण नरहेको भन्दै आगामी स्थानीय निर्वाचनको तयारीमा जुट्न सबै नेता तथा कार्यकर्तालाई आह्वान गरेकी हुन् ।

महामन्त्री संग्रौलाले निर्वाचन आयोगको निर्णयपछि अब ‘हामी नै आधिकारिक कांग्रेस हौँ’ भन्ने स्पष्ट सन्देश देशभरका ६ हजार ७ सय ४३ वटै वडा र बुथ तहसम्म पुर्याउनुपर्ने बताइन्। पार्टीले अघि सारेको ‘हामी तयार छौँ’ अभियानलाई केवल औपचारिक सभा वा नारामा सीमित नराखी टोल र बुथ तहको वास्तविक संगठनात्मक कार्यभारसँग जोड्नुपर्नेमा उनले जोड दिइन् । युवाको ऊर्जा, पुरानाको अनुभव र आम नागरिकको विश्वासलाई समेट्दै आजैबाट बुथ समिति अद्यावधिक गर्ने, क्रियाशील सदस्यता नवीकरणलाई पारदर्शी बनाउने तथा ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानलाई व्यवहारमा उतार्नुपर्ने उनले बताइन् ।

आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै संग्रौलाले चुनावको मुखमा गरिने दौडधुपभन्दा आजैदेखिको कार्यशैलीले नतिजा निर्धारण गर्ने बताइन् । टिकट वितरणअघि नै स्वच्छ छवि र लोकप्रिय उम्मेदवार चयनको आधार तयार पार्नुपर्ने तथा पार्टीको आधिकारिक निर्णयविरुद्ध बागी उम्मेदवारी दिने वा असहयोग गर्नेलाई तत्काल कडा कारबाही गर्ने सन्देश तल्लो तहसम्म दिनुपर्ने उनले उल्लेख गरिन् । विगतमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले गरेका राम्रा कामको तथ्याङ्कसहित प्रचारप्रसार गर्दै आगामी ५ वर्षको स्पष्ट भिजन लिएर जनताको घरदैलोमा जान पनि उनले सम्पूर्ण पार्टी पंक्तिलाई आग्रह गरिन् ।

बैठकमा उनले प्रधानमन्त्री बालेन नेतृत्वको वर्तमान सरकारका पछिल्ला गतिविधिहरू लोकतान्त्रिक मूल्यमान्यता र विधिको शासनविपरीत रहेको भन्दै कडा आलोचना गरिन् । अमेरिका–इरान युद्धका कारण विश्वभर अस्थिरता र महँगी बढिरहेका बेला जनताका दैनिक समस्या समाधान गर्नुको सट्टा सरकार मौलिक अधिकार संकुचित गर्न लागेको उनले आरोप लगाइन् । पत्रिकाको कार्यालयमै गएर धरपकड गर्ने, नेपाल प्रहरीको अनुसन्धान प्रक्रियामा बाधा पु-याउने र प्रधानमन्त्रीका सल्लाहकार स्वयंले अनुसन्धानका लागि लिइएको मोबाइल फोन लगेर राख्ने जस्ता गैरकानुनी कार्य कांग्रेसलाई स्वीकार्य नहुने उनले स्पष्ट पारिन्। उनले नेपालको राष्ट्रिय सार्वभौमसत्तासँग जोडिएको चुच्चे नक्शा र ईपीजी प्रतिवेदन बुझ्ने तथा कार्यान्वयन गर्ने राष्ट्रिय अडानबाट सरकार विचलित भएको भन्दै संसद् र सडक दुवै मोर्चाबाट यसको भण्डाफोर गर्नुपर्ने धारणा उनले राखिन् ।

प्राकृतिक विपद् र जनजीविकाका सवाल उठाउँदै महामन्त्री संग्रौलाले गत भदौमा आएको भोटेकोशी, त्रिशूली र बूढीगण्डकी क्षेत्रको बाढीपहिरोबाट प्रभावित नागरिक अझै पुनर्वासको पर्खाइमा रहेको बताइन् । प्रभावित परिवारको तत्काल राहत, सुरक्षित आवास र दीर्घकालीन जीविकोपार्जनको ग्यारेन्टीका लागि राज्यलाई बाध्य पार्नुपर्नेमा उनले जोड दिइन्। त्यसैगरी, विस्थापित र भूमिहीन सुकुम्बासीहरूको समस्यालाई भोट बैंकका रूपमा नहेरी मानवीय मर्यादा र सामाजिक न्यायका आधारमा रोजगारी, शिक्षा र स्वास्थ्यको पहुँचसहित सुरक्षित स्थानमा पुनर्वासको व्यवस्था मिलाउन पनि उनले माग गरिन् ।

प्रकाशित मिति : November 27, 2026 at 6:09 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/