पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा
१० मंसिर, काठमाडौँ । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा जारी आन्दोलनलाई थप सशक्त बनाउँदै दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।
महासंघले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै मंसिर १३ देखि २० गतेसम्म विभिन्न चरणमा विरोधका कार्यक्रम सञ्चालन गर्ने जनाएको हो। महासंघका अनुसार मंसिर १३ गते ‘संकटमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता : राष्ट्रपतिको सरकारले सुनेन, सत्ताधारी दलले सुन्दैन’ भन्ने नारासहित राष्ट्रपतिको कार्यालयमा एक घण्टा धर्ना दिइनेछ।
त्यसैगरी, मंसिर १४ गते प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको कार्यालयमा ‘प्रमुख विपक्षी दल किन मौन ?’ भन्ने नारासहित धर्ना दिइनेछ। मंसिर १५ गते नेकपा (एमाले), १६ गते नेकपा, १७ गते श्रम संस्कृति पार्टी र १८ गते राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यालयमा सोही नारासहित एक घण्टा धर्ना दिने कार्यक्रम तय गरिएको महासंघले जनाएको छ।
यसैगरी, मंसिर २० गते काठमाडौं उपत्यका तथा उपत्यकाबाहिरका जिल्ला सदरमुकाममा कालो झण्डा, कालो पट्टी र कालो मास्क लगाएर प्रदर्शन गरिने विज्ञप्तिमा उल्लेख छ।
महासंघले यसअघि सञ्चालन गरेको पहिलो चरणको आन्दोलन देशव्यापी रूपमा सफलतापूर्वक सम्पन्न भए पनि सरकारले माग सम्बोधन नगरेको जनाएको छ। सरकारलाई थप दबाब दिन र संघीय संसद्का प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सांसदलाई दबाब दिन दोस्रो चरणको आन्दोलन घोषणा गरिएको महासंघको भनाइ छ।

महासंघले समाचार कक्षमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड, प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने मनसाय राखी प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास, सञ्चारमाध्यममा अनधिकृत रूपमा गाडी तोडफोड तथा पत्रकारलाई जबरजस्ती निष्कासनलगायतका विषय उठाएको छ।
त्यस्तै, श्रम अधिकारको उल्लङ्घन, लोककल्याणकारी विज्ञापनबापत पत्रपत्रिकाले प्राप्त गरिरहेको रकम प्रेस काउन्सिल नेपालको सिफारिसबमोजिम नगरेको तथा वर्तमान अवस्थामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणप्रति सरकारले उदासीन व्यवहार देखाएको महासंघको आरोप छ।
महासंघले आफ्ना मागप्रति लिखित प्रतिबद्धता नजनाउने कुनै पनि दलको कार्यालयमा धर्ना नदिने स्पष्ट पारेको छ। माग सम्बोधन नभए आन्दोलनको तेस्रो चरणका कार्यक्रमसमेत सञ्चालन गरिने विज्ञप्तिमा उल्लेख छ।
महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा आन्दोलनका कार्यक्रम सफल बनाउन महासंघका सबै तहका समिति तथा सदस्यलाई सक्रिय सहभागिताका लागि आह्वान गरिएको छ।
प्रकाशित मिति : November 26, 2026 at 4:31 pm











