सार्वजनिक ऋण २९ खर्ब पुग्यो, चार महिनामै साँवा र ब्याजमा डेढ खर्ब खर्च
९ मंसिर, काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनासम्ममा नेपालको कुल सार्वजनिक ऋण दायित्व २९ खर्ब ७५ अर्ब ११ करोड ८० लाख रुपैयाँ पुगेको छ । यो कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४५.०८ प्रतिशत हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको सुरुआतमा २९ खर्ब ८१ अर्ब ७० करोड २८ लाख रुपैयाँ रहेको सार्वजनिक ऋण कात्तिक मसान्तसम्म आइपुग्दा ६ अर्ब ५८ करोड ४८ लाख रुपैयाँले घटेको छ। नयाँ ऋण परिचालन भए पनि साँवा भुक्तानी तथा विनिमयदरको प्रभावका कारण समग्र ऋण दायित्व घटेको हो।
कुल सार्वजनिक ऋणमध्ये वैदेशिक ऋणको हिस्सा ५२.९३ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४७.०७ प्रतिशत रहेको छ। सरकारको वैदेशिक ऋण दायित्व १५ खर्ब ७४ अर्ब ६४ करोड २१ लाख रुपैयाँ र आन्तरिक ऋण दायित्व १४ खर्ब ४७ करोड ५९ लाख रुपैयाँ रहेको छ।

सरकारले चालु आर्थिक वर्षमा ६ खर्ब ५८ अर्ब २८ करोड रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ। कात्तिक मसान्तसम्म एक खर्ब ५३ अर्ब ८४ करोड ७२ लाख रुपैयाँ ऋण परिचालन भएको छ। यो वार्षिक लक्ष्यको २३.३७ प्रतिशत हो। चार महिनामा सरकारले एक खर्ब २५ अर्ब रुपैयाँ आन्तरिक ऋण र २८ अर्ब ८४ करोड रुपैयाँभन्दा बढी वैदेशिक ऋण प्राप्त गरेको छ। नयाँ ऋण परिचालनमा आन्तरिक ऋणको हिस्सा ८१.२५ प्रतिशत रहेको छ।
सरकारले सार्वजनिक ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि चालु आर्थिक वर्षमा चार खर्ब १७ अर्ब ८८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। चार महिनामै उक्त बजेटको ३३.७३ प्रतिशत खर्च भएको छ। यस अवधिमा आन्तरिक ऋणको साँवा भुक्तानीमा ९९ अर्ब ९४ करोड रुपैयाँ र ब्याजमा १९ अर्ब २४ करोड ८२ लाख रुपैयाँ खर्च भएको छ। त्यस्तै, वैदेशिक ऋणको साँवा भुक्तानीमा १७ अर्ब ३८ करोड रुपैयाँ र ब्याजमा चार अर्ब ३६ करोड ७९ लाख रुपैयाँ खर्च भएको छ।
प्रकाशित मिति : November 25, 2026 at 2:36 pm













