९ मंसिर २०८३, मंगलबार | Tue Nov 24 2026

वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ती ४८ अर्ब माथि, कुन बैंकको कति ?

https://www.muktinathbank.com.np/online/loan-application

८ मंसिर, काठमाडौं । वाणिज्य बैंकहरूमा गैरबैंकिङ सम्पत्तिको थुप्रो बढ्दै गएको छ। बैंकहरूले कर्जा असुली गर्न नसकेपछि धितोका रूपमा राखिएका जग्गा, भवन, उद्योग तथा अन्य सम्पत्ति सकार्नुपर्ने अवस्था बढेसँगै गैरबैंकिङ सम्पत्तिको आकार पनि लगातार उकालो लागेको हो। कर्जा असुलीमा देखिएको कमजोरी, ऋणीको बढ्दो वित्तीय दबाब र धितो बिक्रीमा आएको सुस्तताका कारण बैंकहरूले सकारेर आफ्नो स्वामित्वमा ल्याएका यस्ता सम्पत्ति बढिरहेका छन्। गैरबैंकिङ सम्पत्तिले बैंकको पुँजी र स्रोतलाई लामो समयसम्म बाँधेर राख्ने भएकाले यो अवस्था बैंकिङ क्षेत्रका लागि थप चुनौतीका रूपमा देखिएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार असोजसम्ममा वाणिज्य बैंकहरूको कुल गैर–बैंकिङ सम्पत्ति ४८ अर्ब ४७ करोड ८९ लाख रुपैयाँ पुगेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.११ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको पहिलो त्रैमासिकसम्ममा वाणिज्य बैंकहरुको गैर बैंकिङ सम्पत्ती ४३ अर्ब २४ करोड ३२ लाख रुपैयाँ रहेको थियो ।

सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १९ बैंकसँग यस्तो सम्पत्ति रहेको छ भने स्ट्याण्डर्ड चार्टर्ड बैंकको गैर–बैंकिङ सम्पत्ति शून्य रहेको छ । १९ वाणिज्य बैंकमध्ये चालु आर्थिक वर्षको तीन महिनाको अवधिसम्ममा १४ बैंकको गैर–बैंकिङ सम्पत्ति बढेको छ भने ५ बैंकको घटेको छ ।

चालु आवको असोज मसान्तसम्म हिमालयन बैंकमा सबैभन्दा धेरै गैरबैंकिङ सम्पत्ति थुप्रिएको छ। । यो बैंकको गैर–बैंकिङ सम्पत्ति गत वर्षको सोही अवधिको तुलनामा ७.४० प्रतिशतले बढेर ६ अर्ब ३६ करोड ९१ लाख रुपैयाँ पुगेको छ । गत वर्षको असोजसम्म बैंकसँग ५ अर्ब ९३ करोड ४ लाख रुपैयाँ बराबरको गैर–बैंकिङ सम्पत्ति थियो। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको गैर–बैंकिङ सम्पत्ति ५०.९४ प्रतिशतले बढेर ५ अर्ब ८५ करोड १६ लाख रुपैयाँ पुगेको छ । त्यस्तै प्राइम कमर्सियल बैंकको यस्तो सम्पत्ती २९.११ प्रतिशतले बढेर ५ अर्ब ४९ करोड ७० लाख रुपैयाँ पुगेको छ । नेपाल एसबिआई बैंकको गैर बैंकिङ सम्पत्ती ४१.१५ प्रतिशतले बढेर १ अर्ब ३४ करोड १६ लाख रुपैयाँ, नेपाल बैंकको ३६.५५ प्रतिशतले बढेर ३६ करोड ८ लाख रुपैयाँ, सिटिजन्स बैंकको ३६.२३ प्रतिशतले बढेर १ अर्ब ७२ करोड रुपैयाँ र सानिमा बैंकको २६.७६ प्रतिशतले बढेर १ अर्ब ३१ करोड ६९ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै प्रभु बैंकको गैरबैंकिङ सम्पत्ति ८१.१७ प्रतिशतले बढेर ३ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । त्यस्तै यो अवधिमा लक्ष्मी सनराइज बैंकको गैर बैंकिङ सम्पत्ती ८.११ प्रतिशतले बढेर २ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । यो अवधिमा एनएमबी बैंकको ६.४० प्रतिशतले बढेर १ अर्ब ८८ करोड रुपैयाँ, र कृषि विकास बैंकको १०.२२ प्रतिशतले बढेर १ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ । त्यस्तै सिद्धार्थ बैंकको १७.४८ प्रतिशतले बढेर ९० करोड, माछापुच्छ्रे बैंकको ८.७१ प्रतिशतले बढेर ६५ करोड रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकको ८.०३ प्रतिशतले बढेर २७ करोड रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा ५ वटा वाणिज्य बैंकको गैर–बैंकिङ सम्पत्ति घटेको छ । प्रतिशतका आधारमा सबैभन्दा धेरै कुमारी बैंकको १५.८५ प्रतिशतले घटेर २ अर्ब १२ करोड १६ लाख रुपैयाँमा झरेको छ । जुन गत वर्षको सोही अवधिमा २ अर्ब ५२ करोड ११ लाख रुपैयाँ रहेको थियो । यस्तै, रकमका आधारमा सबैभन्दा धेरै घट्ने ग्लोबल आइएमई बैंकको गैर–बैंकिङ सम्पत्ति ९.५८ प्रतिशतले घटेर ५ अर्ब ४७ करोड ६१ लाख रुपैयाँ कायम भएको छ । यसैगरी, एभरेष्ट बैंकको ७.९१ प्रतिशतले घटेर ४९ करोड ५९ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ७.८९ प्रतिशतले घटेर ४ अर्ब १० करोड ८५ लाख रुपैयाँ र नबिल बैंकको ७.८६ प्रतिशतले घटेर ३ अर्ब १८ करोड ५५ लाख रुपैयाँमा सीमित भएको छ ।

प्रकाशित मिति : November 24, 2026 at 2:23 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/