राष्ट्र बैंकको खुद नाफा साढे ८३ अर्ब नाघ्यो, विदेशी मुद्रा सञ्चिति कति ?
२ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकको गत आर्थिक वर्ष २०८२/८३ को खुद नाफामा उल्लेखनीय वृद्धि भएको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरण अनुसार समीक्षा वर्षमा बैंकको खुद नाफा ८३ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३.८४ प्रतिशतले बढी हो। अघिल्लो वर्ष बैंकको खुद नाफा ८० अर्ब ४८ करोड रुपैयाँ रहेको थियो ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा कुल विदेशी विनिमय सञ्चिति ४५.६ प्रतिशतले वृद्धि भई ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ थियो। गत आव केन्द्रीय बैंकले विदेशी मुद्राको खुद ब्याज आम्दानी १ खर्ब १६ अर्ब ६२ करोड रुपैयाँ गरेको छ । यो अघिल्लो आव सोही अवधिको तुलनामा २३ प्रतिशत बढेको छ।
यसैगरी गत आर्थिक वर्षमा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ३.०८ प्रतिशतमा सीमित रहेको छ भने चालु खाता ९ खर्ब २३ अर्ब ५६ करोड र शोधनान्तर स्थिति १० खर्ब २७ अर्ब ४ करोड रुपैयाँले बचतमा रहेको छ। यस अवधिमा कायम विदेशी विनिमय सञ्चितिले करिब २३ महिनाको वस्तु आयात र १९.६ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने क्षमता राख्छ।
त्यसैगरी, केन्द्रीय बैंकको कुल सम्पत्ति तथा दायित्व ४५.०६ प्रतिशतले बढेर ३८ खर्ब ७४ अर्ब ८२ करोड रुपैयाँभन्दा माथि पुगेको छ भने २०८३ असार मसान्तसम्ममा कुल ८ खर्ब ७ अर्ब ६९ करोड बराबर विभिन्न दरका नोटहरु चलनचल्तीमा छन्।
बैंक तथा वित्तीय संस्थाहरूको यस बैंकमा स्वदेशी तथा विदेशी मुद्रामा रहेको निक्षेप ५९.१३ प्रतिशतले बढेर २०८३ असार मसान्तमा १६ खर्ब ७५ अर्ब ९५ करोड ५८ लाख ८८ हजार रहेको छ । २०८२ असार मसान्तमा त्यस्तो निक्षेप दायित्व १० खर्ब ५३ अर्ब १७ करोड ९१ लाख ३९ हजार रहेको थियो ।
यस बैंकमा रहेको सरकारको निक्षेप १ खर्ब ८६ अर्ब ८५ लाख ३० हजार रहेको छ भने कुल इक्विटीमा ५४.०५ प्रतिशतले वृद्धि भएको छ । यस अन्तर्गत जगेडा कोष ५४.४५ प्रतिशतले वृद्धि भई १० खर्ब ३६ अर्ब ४३ करोड ३३ लाख ९५ हजार रहेको छ । बैंकको सेयर पुँजी ५ अर्ब रहेकोमा २०८३ असार मसान्तमा समेत सोही रकम कायम रहेको छ ।
प्रकाशित मिति : November 18, 2026 at 2:09 pm













