पुँजीबजार सुधारको २१ बुँदे कार्ययोजना कार्यान्वयनमा सहकार्य गर्ने नेप्से सीईओको प्रतिबद्धता
२ मंसिर,काठमाडौं । स्टक ब्रोकर एसोसिएसन अफ नेपालले नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत प्रताप सुबेदीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ । एसोसिएसनका अध्यक्ष सागर ढकालसहितको प्रतिनिधिमण्डलले नेप्से कार्यालयमा पुगेर सीईओ सुबेदीलाई बधाई तथा शुभकामना व्यक्त गरेको हो ।
भेटका क्रममा एसोसिएसनका अध्यक्ष ढकालले अर्थ मन्त्रालयले अघि सारेको पुँजीबजार सुदृढीकरण तथा पुनरुत्थानसम्बन्धी २१ बुँदे कार्ययोजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिएका थिए । उनले कार्ययोजनालाई समयमै कार्यान्वयन गर्न सके नेपालको पुँजीबजारमा देखिएका विद्यमान समस्या समाधान हुनुका साथै लगानीकर्ताको विश्वास अभिवृद्धि गर्न र बजारलाई थप पारदर्शी तथा व्यवस्थित बनाउन सहयोग पुग्ने बताए ।

ढकालले पुँजीबजारको दिगो विकासका लागि नियामक निकाय, नेप्से, ब्रोकर कम्पनी तथा अन्य सरोकारवाला संस्थाबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गरे । जवाफमा नेप्सेका सीईओ प्रताप सुबेदीले पुँजीबजारको विकास र सुधारका लागि सम्बन्धित सबै सरोकारवालासँग सहकार्य गर्न नेप्से तयार रहेको बताए । उनले अर्थ मन्त्रालयको २१ बुँदे पुँजीबजार सुधार तथा पुनरुत्थान कार्ययोजना कार्यान्वयनका लागि आवश्यक पहल र काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
पुँजीबजारको विकासका लागि नीतिगत सुधारसँगै संस्थागत समन्वय, प्रभावकारी कार्यान्वयन र सरोकारवालाबीच सहकार्य आवश्यक रहेको दुवै पक्षको धारणा थियो । एसोसिएसनले नेपालको पुँजीबजारलाई थप पारदर्शी, व्यवस्थित र लगानीकर्तामैत्री बनाउन नेप्सेसँग रचनात्मक सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ ।
प्रकाशित मिति : November 18, 2026 at 11:44 am













