३ मंसिर २०८३, बुधबार | Wed Nov 18 2026

प्रहरीको विशेष ब्यूरोमा एसपी सुदीप पाठक, यी हुन सरूवामा परेका एसपी र डिएसपी

https://www.muktinathbank.com.np/online/loan-application

२ मंसिर,  काठमाडौं । नेपाल प्रहरीको विशेष ब्यूरोमा एसपी सुदीप पाठकको काज सरुवा भएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा कार्यरत पाठकलाई प्रहरी प्रधान कार्यालयले मंगलबार विशेष ब्यूरोमा खटाएको हो । ब्यूरोले प्रहरीको अति महत्त्वपूर्ण अपरेशनल जिम्मेवारी सम्हाल्दै आएको छ ।

प्रहरी नेतृत्व परिवर्तनसँगै लामो समयदेखि रोकिएको सरुवाको क्रमसमेत अघि बढ्न थालेको छ । यसक्रममा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा कार्यरत एसपी काजीकुमार आचार्यलाई प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन (कप्र) शाखामा काज सरुवा गरिएको छ । प्रहरी संगठनमा सरुवा, बढुवा तथा जनशक्ति व्यवस्थापनसम्बन्धी महत्त्वपूर्ण काम कर्मचारी प्रशासनबाट हुने गर्छ ।

सिन्धुपाल्चोक प्रहरी प्रमुखको जिम्मेवारी एसपी निरञ्जनदत्त भट्टलाई दिइएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।

 मंगलबार केही डीएसपीको समेत काज सरुवा गरिएको छ । जिल्ला प्रहरी कार्यालय अछाममा कार्यरत डीएसपी पविन्द्र बमलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय दमकका डीएसपी हरिबहादुर बस्नेतलाई सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालय र इलाका प्रहरी कार्यालय बरहथवाका डीएसपी गोपीकृष्ण सुवेदीलाई प्रदेश प्रहरी गण पोखरा, कास्कीमा खटाइएको छ ।

त्यस्तै, प्रहरी प्रधान कार्यालयको लेखा शाखामा विश्वराज अधिकारी, प्रबन्ध शाखामा तर्कराज पाण्डे र विपद् व्यवस्थापनमा मदन कुँवरलाई काज सरुवा गरिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत डीएसपी दानबहादुर थापालाई कर्मचारी प्रशासन शाखामा ल्याइएको छ ।

लामो समयदेखि रोकिएका सरुवा तथा जनशक्ति व्यवस्थापनका काम नेतृत्व परिवर्तनपछि क्रमशः अघि बढ्न थालेका छन् । मंगलबारको निर्णयलाई प्रहरी संगठनभित्र रोकिएको सरुवा प्रक्रिया पुनः सक्रिय बनाउने सुरुवाती कदमका रूपमा हेरिएको छ ।

प्रकाशित मिति : November 18, 2026 at 9:20 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/