वडा सदस्यको हस्ताक्षर किर्ते गरी गाउँसभा गर्ने गाउँपालिका अध्यक्ष पक्राउ
२ मंसिर, सर्लाही । वडा सदस्यको हस्ताक्षर किर्ते गरी गाउँसभा सञ्चालन गरेर नीति तथा कार्यक्रम पारित गरेको आरोपमा सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिहासन राय पक्राउ परेका छन् ।
सरकारी कागज किर्ते गरेको आरोपमा ५५ वर्षीय रायलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले बुधबार दिउँसो करिब ५ बजे बसबरिया गाउँपालिका–१ स्थित आफ्नै घरबाट पक्राउ गरेको हो ।
आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम पेस गर्न २०८० साल असार १० गते आयोजित गाउँसभामा अनुपस्थित रहेकी एक वडा सदस्यको हस्ताक्षर किर्ते गरी गाउँसभाबाट नीति तथा कार्यक्रम पारित गरिएको भन्दै प्रहरीमा उजुरी परेको थियो ।
उक्त उजुरीका आधारमा सरकारी कागज किर्तेसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी प्रहरीले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा सर्लाही जिल्ला अदालतबाट २०८३ साल असोज १६ गते रायलाई पक्राउ गर्न अनुमति प्राप्त भएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका गाउँपालिका अध्यक्ष रायमाथि सरकारी कागज किर्तेसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रकाशित मिति : November 18, 2026 at 7:47 am













