१ मंसिर २०८३, सोमबार | Mon Nov 16 2026

निर्जीवन बीमा कम्पनीको घाटा १ अर्ब २७ करोड, कुनको अवस्था कस्तो ?

३० कात्तिक, काठमाडौं । लगातार प्राकृतिक विपत्ति र बदलिँदो प्रतिकूल परिस्थितिका कारण दबाबमा रहेका निर्जीवन बीमा कम्पनीहरूको वित्तीय अवस्थामा अझै उल्लेख्य सुधार देखिन सकेको छैन। गत वर्षको युवा आन्दोलनले सिर्जना गरेको आर्थिक तथा व्यावसायिक चुनौतीबाट क्रमशः माथि उठ्ने प्रयास गरिरहेका कम्पनीहरूलाई चालु आर्थिक वर्षको भदौ १० गते गएको बाढीले पुनः प्रभावित बनाएपछि बीमा क्षेत्रको वित्तीय स्थायित्व र सुधारको अपेक्षा थप चुनौतीपूर्ण बनेको छ।

चालु आर्थिक वर्ष २०८३/८४ को असोजसम्मको तथ्याङ्कअनुसार १४ निर्जीवन बीमा कम्पनीको कुल खुद घाटा १ अर्ब २७ करोड ४६ लाख रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीहरूको कुल खुद घाटा १ अर्ब ७३ करोड ७७ लाख ७६ हजार रुपैयाँ थियो।

समीक्षा अवधिमा राष्ट्रिय बीमा कम्पनी सबैभन्दा बढी नाफा कमाउने निर्जीवन बीमा कम्पनी बनेको छ। कम्पनीले पहिलो तीन महिनामा २८ करोड ३० लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा ९ करोड ९५ लाख ९ हजार रुपैयाँ घाटामा रहेको थियाे । अघिल्लाे बर्ष घाटामा रहेको कम्पनीले यस वर्ष उल्लेख्य सुधार गर्दै नाफा कमाउन सफल भएको हो।

त्यस्तै, प्रभु इन्स्योरेन्सले ६ करोड ६८ लाख १ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको सोही अवधिमा ६ करोड ३१ लाख ३९ हजार रुपैयाँ नाफा कमाएको कम्पनीको याे अवधिमा नाफा ५.८० प्रतिशतले बढेको छ।

शिखर इन्स्योरेन्स पनि घाटाबाट नाफामा फर्किएको छ। गत वर्षको पहिलो त्रैमासमा १५ करोड ८५ लाख ८६ हजार रुपैयाँ घाटा व्यहोरेको कम्पनीले यस वर्ष ४ करोड ११ लाख २१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

यसैगरी, एनएलजी इन्स्योरेन्सले ३ करोड ५३ लाख ४३ हजार रुपैयाँ र आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले ३ करोड ३ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएका छन्।

नेशनल इन्स्योरेन्सको नाफामा भने भारी गिरावट आएको छ। गत वर्षको असोजसम्म ३ करोड ८१ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा ७ लाख १ हजार रुपैयाँ मात्रै नाफा कमाएको छ।

समीक्षा अवधिमा ८ कम्पनीको नाफा ऋणात्मक रहेको छ । याे अवधिमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको वित्तीय अवस्था सबैभन्दा कमजोर देखिएको छ। गत वर्षको पहिलो त्रैमासमा १० करोड ९३ लाख ३७ हजार रुपैयाँ नाफा कमाएको कम्पनी यस वर्ष ४० करोड ११ लाख रुपैयाँ घाटामा पुगेको छ।

त्यस्तै द ओरिएन्टल इन्स्योरेन्सले ३२ करोड ६० लाख ९१ हजार रुपैयाँ घाटा व्यहोरेको छ। सानिमा जीआईसी इन्स्योरेन्स अघिल्लो वर्षको पहिलो त्रैमासमा २० करोड २ लाख ३ हजार रुपैयाँ घाटामा रहेकोमा याे अवधिमा २९ करोड ३७ लाख ७६ हजार रुपैयाँ घाटामा रहेको छ ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले २० करोड ९८ लाख ३२ हजार रुपैयाँ, नेपाल इन्स्योरेन्सले २० करोड ४७ लाख २ हजार रुपैयाँ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १६ करोड १५ लाख ५६ हजार रुपैयाँ घाटा व्यहोरेका छन्।

त्यसैगरी नेको इन्स्योरेन्स ८ करोड १८ लाख ७१ हजार रुपैयाँ र युनाइटेड अजोड इन्स्योरेन्स ५ करोड २९ लाख ८४ हजार रुपैयाँ घाटामा रहेका छन्।

प्रकाशित मिति : November 16, 2026 at 5:04 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/