१८ कार्तिक २०८३, मंगलबार | Tue Nov 3 2026

नेपाल बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले शून्य डाउन पेमेन्टमै १८ महिनासम्म किस्ताबन्दी सुविधा पाउने

१७ कात्तिक, काठमाडौं । नेपाल बैंक लिमिटेडका क्रेडिट कार्ड प्रयोगकर्ताले अब शून्य डाउन पेमेन्टमा १८ महिनासम्मको किस्ताबन्दी (ईएमआई) सुविधा पाउने भएका छन् । बैंकले ‘बाइ नाउ पे लेटर’ (बीएनपीएल) प्लेटफर्म ओएनईबीएनपीएल सञ्चालन गर्ने फिनटेक कम्पनी फिनतारा सोलुसन्ससँग सम्झौता गरेसँगै यस्तो सुविधा उपलब्ध हुने भएको हो ।

सम्झौताअनुसार नेपाल बैंकका योग्य क्रेडिट कार्डधारकले ओएनईबीएनपीएलको व्यापारिक सञ्जालमा आबद्ध प्रतिष्ठानबाट वस्तु तथा सेवा खरिद गरी शून्य प्रतिशत डाउन पेमेन्टमा ३ देखि १८ महिनासम्मको किस्तामा भुक्तानी गर्न सक्नेछन् ।

ओएनईबीएनपीएलको सञ्जालमा खुद्रा पसल, मोबाइल तथा ग्याजेट, घरायसी उपकरण, अस्पताल, रिसोर्ट तथा होलिडे प्याकेज प्रदायकलगायत १५० भन्दा बढी अनलाइन तथा अफलाइन व्यापारिक प्रतिष्ठान आबद्ध छन् । यस सुविधाले ग्राहकलाई खरिदका बेला एकमुष्ट ठूलो रकम भुक्तानी गर्नुपर्ने बाध्यता कम गर्ने बैंकले जनाएको छ ।

काठमाडौंस्थित नेपाल बैंकको केन्द्रीय कार्यालयमा दुवै संस्थाका वरिष्ठ अधिकारीहरूको उपस्थितिमा सम्झौतामा हस्ताक्षर भएको हो । नेपाल बैंकका प्रमुख कर्जा अधिकृत प्रदीपकुमार पाठकले फिनटेक कम्पनीसँगको साझेदारीमार्फत क्रेडिट कार्डधारकलाई आधुनिक डिजिटल बीएनपीएल सेवा उपलब्ध गराउने लक्ष्य राखिएको बताए ।

त्यस्तै, फिनतारा सोलुसन्स (ओएनईबीएनपीएल) का कार्यकारी निर्देशक आशिष के. शर्माले देशभर ठूलो ग्राहक आधार भएको सरकारी बैंकसँगको सहकार्यले कर्जामा सहज पहुँच विस्तार गर्न सहयोग पुग्ने बताए । यसले क्रेडिट कार्डमार्फत दैनिक आवश्यक खरिदलाई न्यून लागतमा सहज बनाउने उनको भनाइ छ ।

प्रकाशित मिति : November 3, 2026 at 6:07 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/