१४ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026

पत्रकारलाई नियन्त्रणमा लिएको घटनाप्रति प्रेस काउन्सिलको आपत्ति

१३ कात्तिक, काठमाडौं । विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमा प्रवेश गरेर सादा पोसाकका प्रहरीले पत्रकारलाई नियन्त्रणमा लिएको तथा पक्राउ गर्ने प्रयास गरेको घटनाप्रति प्रेस काउन्सिल नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रेस काउन्सिल नेपालले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा कार्यालय समय सकिएपछि सञ्चारमाध्यमका समाचार कक्षमा प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिने प्रयास गरिएको घटनाप्रति आपत्ति जनाएको हो ।

काउन्सिलले पक्राउको स्पष्ट कारण नखुलाइएको, पक्राउ पुर्जी नदेखाइएको, अदालतको अनुमति लिएको प्रमाण प्रस्तुत नगरिएको तथा अपराधको जाहेरी परेको विषयसमेत स्पष्ट नभएको अवस्थामा पत्रकारलाई नियन्त्रणमा लिन खोज्नु गम्भीर आपत्तिको विषय भएको उल्लेख गरेको छ ।

प्रहरी प्रधान कार्यालयबाट जारी विज्ञप्तिको पृष्ठभूमिमा भएको यस घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामाथि गम्भीर प्रश्न उठाएको काउन्सिलको भनाइ छ ।

सञ्चारमाध्यममा प्रकाशित समाचार सामग्रीप्रति असहमति वा पत्रकार आचारसंहितासम्बन्धी उजुरी परेमा त्यसको छानबिन, अनुगमन र निरूपण गर्ने कानुनी जिम्मेवारी प्रेस काउन्सिल नेपालको भएको विज्ञप्तिमा उल्लेख छ । समाचारकै विषयमा चित्त नबुझेमा स्थापित विधि र प्रक्रियाबाट समाधान खोज्न काउन्सिलले नेपाल सरकार, प्रहरी प्रशासन तथा सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ ।

काउन्सिलले नियन्त्रणमा लिइएका पत्रकारको अवस्था र पक्राउको कानुनी आधार तत्काल सार्वजनिक गर्न पनि माग गरेको छ । कानुनी आधारबिना नियन्त्रणमा राखिएको भए तत्काल रिहा गर्न आग्रह गर्दै काउन्सिलले पत्रकार तथा सञ्चारमाध्यमलाई सत्यतथ्यमा आधारित रहेर पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न अनुरोध गरेको छ ।

प्रेस काउन्सिल नेपालले प्रेस स्वतन्त्रताको संरक्षण र मर्यादित पत्रकारिताको प्रवर्द्धनका लागि आफू सधैँ प्रतिबद्ध रहेको जनाएको छ ।

प्रकाशित मिति : October 30, 2026 at 7:23 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/