विचाैलिया भेट्न होटल हिमालयमा हरि फुयालसहित गएका थिए अन्य न्यायाधीश पनि
१२ कात्तिक, काठमाडौं । गत भदाै १८ गते सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालकै प्रस्तावमा काठमाडौंको हिमालय होटलमा भएको बिचौलिया इनम सापकोटासँगको भेटमा सर्वोच्च अदालतकै अर्का न्यायाधीशसमेत सहभागी भएको खुलासा भएको छ। न्यायाधीश फुयालले बिहीबार केही न्यायिक पत्रकारहरूसँगको छलफलमा सापकोटासँग आफ्नो सम्पर्क, उनले विभिन्न उच्चपदस्थ व्यक्तिको नाम लिएर बनाएको प्रभाव र अन्ततः आफ्नै उजुरीपछि पक्राउ परेको घटनाक्रम सार्वजनिक गरेका हुन् ।
फुयालका अनुसार सापकोटाले सुरुमा आफूलाई प्रधानमन्त्री बालेन्द्र शाहको निकट व्यक्ति र अमेरिकी दूतावाससँग सम्बन्धित व्यक्तिका रूपमा प्रस्तुत गरेका थिए। पछि उनले अर्को विदेशी दूतावास, नेपाली सेनाका प्रधानसेनापति र प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग पनि आफ्नो विशेष सम्बन्ध रहेको दाबी गर्ने गरेको फुयालले बताए।
एक पारिवारिक व्यक्तिमार्फत सापकोटासँग चिनजान भएको बताउँदै फुयालले सुरुका दिनमा उनका गतिविधि शंकास्पद नलागेको उल्लेख गरे । सापकोटाले न्यायिक शुद्धीकरण, कानुनी शासन र न्यायालय सुधारका विषय उठाउने गरेका थिए। अमेरिका, भारत र प्रधानमन्त्रीको चाहना तथा उनीहरूका प्राथमिकताबारे समेत जानकारी दिने गरेकाले आफूले उनलाई सम्बन्धित निकायसँग पहुँच भएको व्यक्ति ठानेको फुयालको भनाइ छ।
‘सुरुका करिब दुई महिनासम्म उनी न्यायिक शुद्धीकरण र कानुनी राज्यका कुरा गर्थे । अमेरिका, भारत र प्रधानमन्त्रीले के चाहन्छन् भन्ने विषयमा पनि सूचना ल्याउँथे। त्यसैले उनी त्यतैको व्यक्ति होलान् भन्ने लागेको थियो,’ फुयालले पत्रकारहरूसँग भने।
फुयालका अनुसार सापकोटाले सर्वोच्च अदालतका अन्य न्यायाधीशहरूसँग समेत सम्पर्क विस्तार गरेका थिए। उनीमाथि शंका बढ्नुको एउटा प्रमुख कारण भनेको विचाराधीन मुद्दामा चासो राख्नु र प्रधानमन्त्रीको नाम लिएर न्यायिक निर्णय प्रभावित पार्ने प्रयास गर्नु थियो।
फुयालको इजलासमा परेको एक मुद्दामा प्रतिवादी बनाइएका गुप्ता थरका व्यक्तिलाई थुनामै राख्नुपर्ने र प्रधानमन्त्रीको चाहना पनि त्यही रहेको सापकोटाले बताएको फुयालले खुलाए । तर ती व्यक्तिलाई थुनामै राखिरहन पर्याप्त आधार नभएको ठहर गर्दै न्यायाधीशद्वय हरिप्रसाद फुयाल र श्रीकान्त पौडेलको इजलासले दुई करोड रुपैयाँ धरौटी माग गरेको थियो ।
त्यसको भोलिपल्टै हिमालय होटलमा सापकोटासँग भेट भएको फुयालले बताए । १७ गते धराैटीमा छाड्ने काम भएको थियो ने भदाै १८ गते इनमसँग न्यायाधीशहरूको भेट भएको थियो । उक्त भेटमा सर्वोच्च अदालतका अन्य न्यायाधीश पनि उपस्थित रहेको उनको भनाइ छ । सोही क्रममा सापकोटाले प्रधानमन्त्री न्यायाधीशहरूसँग असन्तुष्ट रहेको भन्दै दबाब सिर्जना गर्न खोजेको फुयालको दाबी छ ।
होटलको बिलसम्बन्धी घटनाले पनि सापकोटाको भूमिकामाथि शंका बढाएको उनले बताए । उक्त भेटको खर्चको बिल इनमले अर्कै व्यक्तिको नाममा राख्न लगाइएका थिए । त्यसपछि सापकोटाको वास्तविक परिचय र उनी कसका लागि काम गरिरहेका छन् भन्नेबारे आफूले थप बुझ्न थालेको फुयालले उल्लेख गरे ।

फुयालका अनुसार सापकोटाले प्रधानमन्त्रीको निर्देशन रहेको भन्दै केही मुद्दामा दबाब दिने प्रयास गरेपछि उनको गतिविधिबारे थप खोजबिन गरिएको बताए । विशेषगरी आर्थिक कारोबारसँग सम्बन्धित मुद्दाहरूमा सापकोटाले देखाएको चासोले उनी वास्तविक रूपमा प्रधानमन्त्री वा विदेशी कूटनीतिक नियोगसँग सम्बन्धित व्यक्ति नभई मुद्दामा चलखेल गर्ने बिचौलिया हुन सक्ने आशंका बढाएको फुयालको भनाइ छ ।
कारागारमा रहेका विवादास्पद कारोबारी दीपक भट्टलाई छुटाउन प्रधानमन्त्रीको निर्देशन रहेको भन्दै दबाब दिइएपछि आफूहरू थप सतर्क भएको पनि उनले बताए । त्यसपछि सापकोटा प्रधानमन्त्रीका प्रतिनिधि नभएको निष्कर्षमा पुगेको र सम्बन्धित निकायलाई जानकारी गराएको फुयालले उल्लेख गरे।
‘सापकोटाको गतिविधिमा शंका लागेपछि प्रधानमन्त्रीको सचिवालयका व्यक्तिहरूसँग कुरा भयो । मैले नै उनीबारे सूचना र प्रमाण उपलब्ध गराएको हुँ,’ फुयालले पत्रकारहरूसँग भने, ‘तर अहिलेको घटनाक्रममा मलाई नै पीडितका रूपमा प्रस्तुत गरिएको छ।’
सापकोटाले प्रधानमन्त्रीको नाम दुरुपयोग गर्दै न्यायाधीशहरूलाई प्रभावित पार्न खोजेको आशंका भएपछि आफूले प्रधानमन्त्रीको सचिवालयमा उजुरी दिएको फुयालले खुलाएका छन्। उनका अनुसार उजुरी दिएको दुई–तीन दिनभित्रै सापकोटा पक्राउ परेका थिए।
फुयालले सापकोटा पक्राउ पर्नुको कारण आफूले उपलब्ध गराएको सूचना र प्रमाण रहेको दाबी गर्दै आफूले नै उनको गतिविधिबारे सम्बन्धित पक्षलाई जानकारी गराएको बताए।
‘सुरुमा प्रधानमन्त्रीको मान्छे भन्दै आएका व्यक्तिले पछि विभिन्न मुद्दामा दबाब दिन थाले। त्यसपछि उनको वास्तविकताबारे बुझ्दा प्रधानमन्त्रीसँग सम्बन्धित व्यक्ति नभएको थाहा भयो। मैले उजुरी दिएँ र त्यसको लगत्तै उनी पक्राउ परे,’ फुयालको भनाइ थियो।
सापकोटाले प्रधानमन्त्री, विदेशी दूतावासका अधिकारी, नेपाली सेनाका प्रमुख तथा प्रधानन्यायाधीशसँग निकट सम्बन्ध रहेको दाबी गरेको विषयमा स्वतन्त्र पुष्टि आवश्यक छ। त्यसैगरी, हिमालय होटलमा भएको भेटको उद्देश्य, सहभागीहरूको भूमिका र विचाराधीन मुद्दामा दबाब दिइएको भनिएको घटनाबारे सम्बन्धित सबै पक्षको धारणा तथा उपलब्ध प्रमाणका आधारमा थप तथ्य स्पष्ट हुनुपर्ने देखिन्छ।
दैनिकीले यसअघि ‘प्रधानन्यायधीश र रास्वापा सांसदको नाममा अमेरिकामा घुस, होटलमा भेट्न न्यायाधीशको प्रस्ताव’ शीर्षकको समाचार मार्फत न्यायाधीश फुयाँल र विचाैलिया सापकोटाको बीचमा भएको ह्वाट्सएप संवादसहितको समाचार प्रकाशित गरेको थियो ।
प्रकाशित मिति : October 29, 2026 at 4:59 pm










