स्वतन्त्रता र स्वाधीनताको प्रयोग गर्न सक्ने देश बनाउन आन्दोलनको विकल्प छैनः केपी ओली
११ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई अहिलेको अवस्थाबाट पार लगाउन आन्दोलनको विकल्प नभएको बताएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालयमा एमालेका मनोनीत तीनजना केन्द्रीय सदस्यको शपथ ग्रहण गराउँदै अध्यक्ष ओलीले देशको अवस्था थप बिग्रिन नदिन तथा देशलाई कमसेकम स्वतन्त्रता स्वाधीनताको प्रयोग गर्नसक्ने बनाउन आन्दोलनको विकल्प नभएको बताए ।
‘अहिले देशले स्वतन्त्रता उपयोग गर्न पाएको छैन, स्वाधीनता खण्डित भएको छ । देश कमसेकम स्वतन्त्रताको प्रयोग, स्वाधीनताको प्रयोग गर्न सक्ने हुनुपर्छ,’ ओलीले भने । उनले देशमा कोही पनि बोल्न नसक्ने गरी राज्य आतङ्क सिर्जना गरिएको, गुण्डाराज चलिरहेको र सरकार बेलगाम फासीवादतर्फ अगाडि बढिरहेको आरोप लगाए । यस्तो अवस्थालाई थप बिग्रन नदिन आन्दोलन आवश्यक रहेको उनको भनाइ थियो ।
देशलाई अहिलेको ‘क्रिटिकल’ अवस्थाबाट पार लगाउनुपर्ने अभिभारा एमालेको काँधमा आएको ओलीले बताए । एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई गन्तव्य बनाएर आधुनिक नेपाल निर्माणको लक्ष्य लिएको उल्लेख गर्दै ओलीले देशलाई अहिलेको संकटपूर्ण अवस्थाबाट पार लगाउने अभिभारा पनि पार्टीको काँधमा आएको बताए ।
प्रकाशित मिति : October 28, 2026 at 4:45 pm










