एन्फाको ताला खुल्यो, वरिष्ठ उपाध्यक्षले बोलाए बैठक
११ कात्तिक, काठमाडौं । लामो समयदेखि बन्द रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको ताला बहुमत सदस्यहरूले खोलेका छन् । एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा बहुमत सदस्यले बुधबार ललितपुरस्थित सातदोबाटोमा रहेको केन्द्रीय कार्यालयको ताला खोलेका हुन्।
एन्फाको विधानको धारा ३१(२) बमोजिम कार्यसमितिका एक तिहाइ वा सोभन्दा बढी सदस्यले लिखित माग गरेमा कार्यसमितिको बैठक अनिवार्य रूपमा बोलाउनुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार २२ दिनअघि बैठक आव्हान गर्न बहुमत सदस्यहरुले माग गरेका थिए । तर, अध्यक्षले नडाकेपछि उनीहरूले बैठक डाक्ने निर्णयमा पुगेका हुन् ।खड्काले कात्तिक १३ गतेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन्। बैठकमा एन्फा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिवलगायत सबै कार्यसमिति सदस्यलाई उपस्थित भएर नेपाली फुटबलको निकासका लागि छलफल गर्न आग्रह गरेका छन् ।
खेल मिलेमतो तथा ठगी सम्बन्धी कसुरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को सिफारिसमा ललितपुर जिल्ला सरकारी वकिल कार्यालयले एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सन्जीव पाण्डेविरुद्ध मुद्दा चलाएको थियो । जोशी र पाण्डे धरौटीमा छुटेका छन् भने नेम्वाङ र राई भने आज मात्रै अदालतमा उपस्थित भएका छन् ।
प्रकाशित मिति : October 28, 2026 at 2:55 pm










