१२ कार्तिक २०८३, बुधबार | Thu Oct 29 2026

अब नागरिकताको प्रतिलिपि लिन गृहजिल्ला धाउन नपर्ने, काठमाडौं उपत्यकाबाटै पाइने

११ कात्तिक, काठमाडौं । नागरिकताको प्रतिलिपि लिन अब नागरिकले आफ्नै गृहजिल्ला धाउनुपर्ने बाध्यता हटेको छ। आफ्नो नागरिकता हराएमा, च्यातिएमा, आगलागी वा पानीका कारण नष्ट भएमा अथवा नयाँ ढाँचामा प्रतिलिपि लिनुपरेमा जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट सेवा लिन सकिने भएको छ। नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ अनुसार यस्तो व्यवस्था गरिएको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार सूचना जारी गर्दै नागरिकताको प्रतिलिपि लिनका लागि काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयबाट सेवा प्रवाह हुने जानकारी दिएको छ।

गृह मन्त्रालयको २०८३ असोज ९ गतेको परिपत्रअनुसार काठमाडौं उपत्यकामा बसोबास गर्ने अन्य जिल्लाका नागरिकलाई सेवा प्रवाह गर्दा सेवाग्राहीको चाप बढ्न सक्ने भएकाले क्षेत्रगत रूपमा सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।

व्यवस्थाअनुसार काठमाडौं जिल्ला प्रशासन कार्यालय वा त्यसअन्तर्गतका कार्यालयबाट बागमती, गण्डकी र लुम्बिनी प्रदेशका जिल्लाबाट नागरिकता लिएका नागरिकले प्रतिलिपि लिन सक्नेछन्।

त्यस्तै, ललितपुर जिल्ला प्रशासन कार्यालय वा त्यसअन्तर्गतका कार्यालयबाट कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाका नागरिकले सेवा लिन पाउनेछन्। भक्तपुर जिल्ला प्रशासन कार्यालय वा त्यसअन्तर्गतका कार्यालयबाट भने कोशी र मधेश प्रदेशका जिल्लाबाट नागरिकता लिएका नागरिकले प्रतिलिपि लिन सक्नेछन्।

नागरिकताको प्रतिलिपि लिन निवेदन पेस गर्दा सम्बन्धित नागरिकको विवरण राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली (NIDMIS) र केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली (CCIMS) मा भएको विवरणसँग रुजु गरिनेछ। दुवै प्रणालीमा विवरण मेल खाएको अवस्थामा नागरिकताको प्रतिलिपि जारी गरिने सूचनामा उल्लेख छ।

तर, अभिलेख नभेटिएको वा अभिलेखमा उल्लेख भएको भन्दा फरक नाम, थर, जन्ममिति वा अन्य विवरण सच्याएर प्रतिलिपि लिन चाहने नागरिकले भने सम्बन्धित जिल्लामै सम्पर्क गर्नुपर्नेछ।

प्रकाशित मिति : October 28, 2026 at 10:45 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/